काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत छन सोङले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग सोमबार शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत छनले दोस्रो पटक अर्थमन्त्रीको जिम्मेवारी सम्हालेकामा मन्त्री पुनलाई बधाई दिँदै कार्यकाल सफलताको कामना गरे ।
भेटमा मन्त्री पुनले चिनियाँ सहयोग तथा लगानीमा निर्माणाधीन विकास आयोजनाका कामलाई तीव्रता दिन आग्रह गर्दै प्रक्रियामा रहेका आयोजना अघि बढ्ने विश्वास व्यक्त गरे ।
चीनले पछिल्लो दशकमा गरेको आर्थिक विकास र गरिबी निवारणको काम विश्वकै लागि उदाहरणीय हुन सक्ने बताएको चर्चा गर्दै चीनको अनुभव नेपालका लागि पनि सान्दर्भिक हुन सक्ने बताए ।
चीनले नेपालको भौतिक विकाससहित विभिन्न क्षेत्रमा विगतदेखि नै सहयोग गर्दै आएकामा धन्यवाद दिँदै पुनले नेपालको अर्थतन्त्रमा केही शिथिलता देखिएको र जनताको विकासको आकांक्षा उच्च भएकाले नियमितभन्दा थप सहयोगको अपेक्षा राखिएको उल्लेख गरे ।