झापा र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र औषधीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो बेलुका ६ बजे झापाको दमक नगरपालिका–८ स्थितमा बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले स्थानीय १९ वर्षीय शेखर परियार र २१ वर्षीय रोहित साहलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनीहरुको साथबाट लुकाईछिपाई राखेको अवस्थामा लागुऔषध ब्राउनसुगर ५ ग्राम बरामद गरी पक्राउ गरेको छ ।
यसैगरी, हिजो दिउँसो साढे १२ बजे इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले हिजो १ ग्राम २ सय मिलिग्राम ब्राउन सुगरसहित २३ वर्षीय मनिष चौधरीलाई कनकाई नगरपालिका–८ बाट पक्राउ गरेको हो ।
यसैगरी, हिजै बेलुका सुनसरीको बराहक्षेत्र नगरपालिका–७ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगर र अस्थाई प्रहरी चौकी बाङ्गेबाट खटिएको प्रहरी टोलीले साइकलयात्रीलाई शंका लागि चेकजाँच गर्ने क्रममा साइकल चालक स्थानीय २० वर्षीय रोहन राई र सोही साइकलमा पछाडी सवार बराहक्षेत्र–२० का समिर दर्जीको साथबाट नोफिन, एभिल, डाइजेपाम, ट्रमानिल, नाइट्रोसन, प्रोमेथोजिन गरी जम्मा ५६ ट्याब्लेट र सिरिन्ज ४ थान फेला पारी पक्राउ गरिएको छ । पक्राउ परेका सबै जनाको थप अनुसन्धान भइरहेको छ ।