२०८२ जेठ २५, आइतवार , ०५:०९:१६ बजे

Sajhamanch
'

सांघाइमा आर्किटेक्चर अध्ययन गरिरहेककी पलेशले ओलम्पिक छनोट जितेर कोरेको इतिहास

सोमवार, चैत ५, २०८०

नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन यसै वर्ष फ्रान्समा हुने पेरिस पारा ओलम्पिकका आइतबार छनोट भइन्।

चीनको ताइयाङमा भएको एसियाली छनोट प्रतियोगिताअन्तर्गत के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले स्वर्ण जित्दै पेरिस पारा ओलम्पिकमा स्थान सुरक्षित गरिन्। यो उपलब्धिसँगै इतिहास रचेकी पलेशा पारा ओलम्पिकका लागि छनोट हुने पहिलो नेपाली खेलाडी बनिन्।

यसअघि तेक्वान्दोकै दुई खेलाडीले छनोट चरण पार गरेर ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए। संगिना वैद्यले २००४ को एथेन्स तथा दीपक विष्टले २००८ को बेइजिङ ओलम्पिकमा छनोट चरण पार गरेर खेलेका थिए। पलेशाले फाइनलमा इरानकी लेइला मिर्जाइलाई ५–४ ले पराजित गरी स्वर्ण जित्दै इतिहास रचेकी हुन्।

त्यसअघि सेमिफाइनलमा पलेशाले उज्वेकिस्तानकी करिमा मेलिकुजिएभालाई १८–२ ले हराउदै फाइनल यात्रा तय गरेकी थिइन् । पलेशाको स्पर्धामा ४ खेलाडी सहभागी थिए। पारा छनोटको प्रत्येक स्पर्धामा पहिलो हुने खेलाडी पेरिस पारा ओलम्पिकलाई छनोट हुने प्रावधान थियो ।

पलेशा एसियाली पारा खेलकुदमा पदक जित्ने पहिलो र एक्लो नेपाली खेलाडी पनि हुन्। पलेशाले चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा ऐतिहासिक कास्य पदक जितेकी थिइन्। टोकियो पारा ओलम्पिक– २०२० मा पनि पलेशाले २ ‘बाउट’ जितेर इतिहास रचेकी थिइन् ।

नेपालमा छनोट प्रतियोगिता खेलेपछि पलेशा चीनको सांघाइ गएकी थिइन्। सांघाइबाटै पलेशा एसियाली छनोट खेल्न ताइयान गएकी थिइन्। पलेशा सांघाइको तोङजी विश्वविद्यालयमा आर्किटेक्चर अध्ययन गरिरहेककी छन्।

एसियाली छनोटमा नेपालबाट २ पुरुष खेलाडीले पनि प्रतिस्पर्धा गरेका थिए। पुरुष ६३ केजीमुनि भरतसिंह महता र ५८ केजीमुनि अमीर ब्लोन पदकविहीन बन। एक ‘बाउट’ जितेका भरतले इन्डोनेसियाका खेलाडीलाई पराजित गरेका थिए ।

सम्बन्धित खबर