२०८१ फागुन ११, आइतवार , ११:४१:४७ बजे

Sajhamanch
'

मेचीनगर स्पोर्टस् मेनियाः मार्सल आर्ट तर्फको खेल सम्पन्न

आइतवार, चैत ४, २०८०

मेचीनगर । मेचीनगरमा जारी ‘प्रथम मेचीनगर स्पोर्टस् मेनिया २०८० अन्तर्गत मार्सल आर्ट तर्फको खेल सम्पन्न भएको छ ।

मेचीनगर खेलकुद विकास समितिको आयोजनामा फागुन २९ गतेदेखि सञ्चालन भइरहेको मेचीनगर स्पोर्टस् मेनियामा मार्सल आर्ट तर्फका विभिन्न तौल समूहमा महिला तथा पुरूष कराते, तेक्वान्दो र बक्सिङ खेल सकिएको हो ।

प्रतियोगितामा करातेतर्फ मेचीनगर वडा नम्बर ११ ले प्रथम स्थान हासिल गरेको छ । नगरको १५ वटै वडा सम्मिलित प्रतियोगितामा ६ स्वर्ण २ रजत र ४ कास्य गरी १२ पदकसहित मेचीनगर ११ प्रथम भएको हो ।

प्रतियोगितामा ५ स्वर्ण, ३ रजत र ३ कास्य गरी ११ पदकसहित मेचीनगर–९ दोस्रो भएको छ भने मेचीनगर–१२ ले २ स्वर्ण, २ रजत र २ कास्य गरी ६ पदक हात पारेर तेस्रो स्थान लिएको छ ।

तेक्वान्दोतर्फ मेचीनगर वडा नम्बर १४ ले प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा ५ स्वर्ण ५ रजत र १९ कास्य गरी २९ पदकसहित मेचीनगर १४ प्रथम भएको हो ।

प्रतियोगितामा ३ स्वर्ण, २ रजत गरी ५ पदकसहित मेचीनगर–७ दोस्रो भएको छ भने मेचीनगर–६ ले २ स्वर्ण, ३ रजत र २ कास्य गरी ७ पदक हात पारी तेस्रो भएको छ । चौथो स्थानमा रहेको मेचीनगर–८ ले २ स्वर्ण १ रजत र १ कास्य गरी ४ पदक जितेको छ ।

यस्तै १ स्वर्ण, २ रजत, ५ कास्य गरी ८ पदक जितेको मेचीनगर– ११ पाँचौ स्थानमा रह्यो भने १ स्वर्ण १ रजत गरी २ पदक प्राप्त गरेको मेचीनगर–९ छैटौ, १ कास्य प्राप्त गरेको मेचीनगर–१५ सातौँ स्थानम रहेका थिए । अरु वडाहरु पदक विहीन भए ।

त्यस्तै बक्सिङतर्फ मेचीनगर वडा नम्बर ६ प्रथम भएको छ । प्रतियोगितामा ४ स्वर्ण ४ रजत र २ कास्य गरी १० पदकसहित मेचीनगर ६ प्रथम भएको हो ।

प्रतियोगितामा २ स्वर्ण, १ रजत र १ कास्य गरी ४ पदकसहित मेचीनगर–१५ दोस्रो भएको छ । त्यसैगरी, मेचीनगर–७ तेस्रो भएको छ । मेचीनगर–७ ले १ स्वर्ण, १ रजत गरी २ पदक हात पार्यो ।

प्रतियोगितामा पदक प्राप्त खेलाडीहरूलाई मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकी,, नगर उपप्रमुख मिना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, नगर खेलकुद विकास समिति अध्यक्ष हृदय राजवंशी, उपाध्यक्ष रविन ओझालगायतले नगदसहित पुरस्कार वितरण गरेका थिए ।

सम्बन्धित खबर