
रौतहट । रौतहटको गौर नगरपालिकालाई उत्कृष्ट नगरको सम्मान प्रदान गरिएको छ। देशभरका सम्पूर्ण नगरपालिकामध्ये गौरले सामाजिक क्षेत्रमा उत्कृष्टता हासिल गरेको भन्दै उक्त सम्मान प्रदान गरिएको हो।
नेपाल नगरपालिका संघको ३१ औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले गौरलाई उत्कृष्ट नगरपालिकाको पुरस्कार प्रदान गरेका हुन्।
गौरका नगर प्रमुख शम्भु साहले उत्कृष्ट नगरपालिका पुरस्कार थापेका हुन्। गत वर्ष गौर नगरपािलका मधेश प्रदेशमै सबै क्षेत्रमा पहिलो स्थानमा थियो।
लगातार नागरिकको पक्षमा काम गरिरहेको तथा गौरवासीको सहयोगले नगरपालिकाको सम्मान हरेक वर्ष बढिरहेको नगर प्रमुख साहले प्रतिक्रिया दिएका छन्।
सामाजिक क्षेत्रमा गौर नगरपालिका देशमै सर्वोत्कृष्ट भएपछि अझ जिम्मेवारी बढेको र थप हौसला प्राप्त भएको नगर प्रमुख साहको भनाइ छ।