![](https://sajhamanch.com/wp-content/uploads/2024/03/Birahi-Adhikari-Kabi.jpg)
भद्रपुर । क्रान्तिकारी कविको छवि बनाएका भद्रपुरका विहरी अधिकारीको एकल कविता वाचन सम्पन्न गरिएको छ ।
भद्रपुर ९ मा रहेको देवकोटा स्मारक संरक्षण समितिको आयोजनामा कवि अधिकारीले आफ्नो एकल कविता वाचन गरेका हुन् ।
कवि तथा साहित्यकार डिल्लीरमण नेपालको प्रमुख आतिथ्यमा सम्पन्न एकल कविता वाचनमा कवि अधिकारीले विगतदेखि वर्तमानसम्मको समाज चित्रण गर्ने नौ वटा कविता वाचन गरेका थिए ।
शहीदको सम्झना गर्दै कविता वाचन सुरू गरेका अधिकारीले शहीदको योगदान बिर्संदै गएकोमा आक्रोस पोखे । ‘भो तीजमा लिन नआउ’ कविता मार्फत उनले नेपाली नारी माथि हत्या, बलात्कार, शोषण, दमन भइरहेको संकेत गर्दै नारीको सुरक्षा गर्न सबैसित आग्रहसमेत गरे ।
कवि अधिकारीले तेस्रो कविता ‘आमा कति रोयौ’ मार्फत नेपाल देश असल शासक नरहेकै कारण सिमाना मिचिएको, स्वाभिमान गुम्दै गएको, भ्रष्टाचार, दुराचार, अन्याय र अत्यचार बढिरहेकोले नेपाली आमा रोइरहेको दुखेसो पोखे ।
अधिकारीले ‘कति लेख्छौ यो पुरस्कारको कविता’ शीर्षकमा आज कवि कलाकार चोर, तस्कर र घुसखोरीको नियन्त्रमा रहेकोले यस्तो समाजमारा प्रवृत्ति अन्त्य गर्ने कविता लेखिनु पर्ने आवाज उठाए । उनले ‘युवाहरुलाई सन्देश’ शीर्षकको कविता मार्फत आफ्नो मातृभूमि उजाड बनाएर अर्काको भूमि उर्वर बनाउन विदेशिने प्रवृत्ति त्याग्न नेपाली युवासित आग्रह गरे ।
‘हजुरबाको सन्देश र नातिको प्रश्न’ शीर्षकको अर्को कवितामार्फत् सर्जक अधिकारीले संघीय लोकतान्त्रिक गणतन्त्र जनमैत्री बन्न नसक्नुमा शासकीय सिद्धान्त कमजोर भएर शासक बलियो बन्दै गएकोमा सत्तासिन दलप्रति कटाक्ष गरेका थिए । उनको ‘जन्मथलो धनकुटा’ शीर्षकको गीतसम्म आइपुग्दा नौ वटा कविताले नेपाली समाजको वास्तविक चित्र प्रस्तुत गरेका थिए ।
स्मारक समितिका अध्यक्ष राजु बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कवि अधिकारीको परिचय सहप्राध्यापक तारा विविध तथा कविताको टिप्पणी सहप्राध्यापक चूडामणि वाशिष्ठले गरेका थिए ।
उपाध्यक्ष ज्ञानेन्द्र कटुवालले स्वागत गरेको कार्यक्रममा वीरेन्द्र मावि, पुँहातु जनज्योति मावि र जीवनज्योति आधारभूत विद्यालयका विद्यार्थीले विविध साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
सचिव युवराज ढकालले सञ्चालन गरेको कार्यक्रममा भद्रपुर २ का वडाध्यक्ष रामबहादुर कँडेलले शुभकामना मन्तव्य राखेका थिए ।