बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई मोबाइल एशोसिएसन बिर्तामोडले स्वागत तथा बधाई ज्ञापनसहित परिचयात्मक कार्यक्रम गरेको छ ।
मोवाइल एशोसिएसनका वरिष्ठ उपाध्यक्ष सुप्रित खनालको अध्यक्षतामा आज बिहान भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख पबित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो ।
एशोसिएसनका उपाध्यक्ष ऋषि भण्डारीले शाब्दिक स्वागत गरेको कार्यक्रममा गत फागुन १४ गते सम्पन्न संघको निर्वाचनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई खादा र अबिर लगाएर बधाई ज्ञापन गरिएको थियो ।
एशोसिएसनका महासचिव सन्जय साहाले सञ्चालन गरेको सो कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवम् झापा गोल्डकपका उपाध्यक्ष सुवास भट्टराई, बिर्तामोड नगरपालिका वडा नं. ३ का वडाध्यक्ष मदन बुढाथोकी लगायत विजयीहरुलाई बधाई ज्ञापन गर्दै उद्योगी तथा व्यवसायीको पक्षमा खुलेर काम गर्न सुझाव दिएका थिए ।
आयोजक मोवाइल एशोसिएसन बिर्तामोडका अध्यक्ष युवराज निरौलाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नगरपालिका र वाणिज्य संघ बीचको तिक्तता हटाएर सुमधुर सम्बन्ध स्थापना गर्ने उद्देश्यले आफूसहित नवनिर्वाचित टिमलाई यहाँ आमन्त्रण गरिएको बताए । उनले आफूले निर्वाचनको समयमा प्रस्तुत गरेको एजेण्डा व्यवसायिक हितकोषको स्थापनाका लागि नगरपालिकाले पनि सहयोग गर्नुपर्ने बताउँदै व्यवसायीका समस्याहरु निराकरण गर्न दुवैपक्ष एक ठाउँमा अभिनुपर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्रसाईले संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई सहकार्य गरेर अगाडि बढ्न सुझाइन् । उनले वाणिज्य संघले गर्ने राम्रा काममा आफूले व्यक्तिगत तथा नगरप्रमुखको तर्फबाट भरपुर सहयोग रहने विश्वास दिलाउँदै बिर्तामोड नगरको विकासमा वाणिज्य संघको महत्वपूर्ण भूमिका हुने कुरामा सबैले मनन गर्नुपर्नेमा उनको जोड थियो । मिलेर काम गरियो भने बिर्तामोडलाई अझ राम्रो बनाउन सकिन्छ । तानातानले कसैको हित नगर्ने उनको भनाई थियो ।
कार्यक्रममा संघका नवनिर्वाचित अध्यक्ष राजु न्यौपानेले पहिले पनि आफू द्वन्द्व गर्न अग्रसर नभएको जिकिर गर्दै मिलेरै अघि बढ्न र आफ्नो तीन वर्षे कार्यकाललाई वाणिज्य क्षेत्रको सम्झन लायक संस्था बनाउने प्रतिवद्धता जनाए ।
सो कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले आफू सदैव व्यवसायीको पक्षमा रहेर काम गरिरहेको बताए भने वडा नंं ३ का वडाध्यक्ष मदन बुढाथोकीले वाणिज्य संघ मसँग सहकार्य गर्न आयो भने सुरुवात नै गरेर जाने र सबै काममा सहकार्य गर्न तयार रहेको ढाडस दिए ।