
काठमाडौं । फ्रान्सको पेरिसमा हुने ओलिम्पक तथा पारालिम्पक गेम्सका लागि हुने एसियाली तेक्वान्दो छनोट प्रतियोगितामा सहभागी हुन तेक्वान्दोको दुई टोली चीन जाने भएका छन् । छनोट प्रतियोगिता मार्च १५ देखि १७ तारिखसम्म चीनको ताइयाङमा हुँदै छ ।
पेरिस ओलम्पिकको छनोटअन्तर्गत पुरुष ५८ केजीमुनि राहुल कुमाल र ६८ केजीमुनि वीरबहादुर महरा तथा महिला ४९ केजीमुनि अन्जली तामाङ र ६७ केजीमुनि इन्दिरा बस्नेतले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रत्येक तौल समूहमा पहिलो र दोस्रो हुने खेलाडी पेरिस ओलम्पिकका लागि छनोट हुने छन् ।
प्रशिक्षकमा टीकाप्रसाद लिम्बू छन् । छनोट मार्च १५ र १६ मा हुनेछ । त्यसका लागि टोली सोमबार चीन प्रस्थान गर्दै छ ।
पेरिस पारालिम्पिक छनोटअन्तर्गत के–४४ क्याटगोरीको पुरुष ५८ केजीमुनि भरतसिंह महता र ६३ केजीमुनि अमिर ब्लोन तथा महिला ५७ केजीमुनि पलेशा गोवर्धनले नेपालको प्रतिनिधित्व गर्ने छन् । पलेशा चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य पदक विजेता हुन् । बाँकी दुईको भने यो ‘डेब्यू’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् । मार्च १७ मा हुने प्रतियोगितामा सहभागी हुन टोली मार्च १४ तारिख चीन प्रस्थान गर्ने छ । हरेक स्पर्धामा पहिलो हुने खेलाडी पेरिस पारालिम्पिकलाई छनोट हुने प्रावधान छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले टोलीलाई सफलताको शुभकामना दिँदै आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।
सो अवसरमा सदस्य–सचिव घिसिङले छनोट प्रतियोगिता खेलाडीका लागि चुनौतीसँगै इतिहास दोहोर्याउने अवसर भएको बताउँदै खेलाडीको तयारीबारे चासो व्यक्त गरेका थिए ।
“छनोट प्रतियोगिता तपाईंहरूका लागि चुनौतीसँगै इतिहास दोहोर्याउने अवसर पनि हो । नेपाली ओलम्पिकको इतिहासमा अहिलेसम्म तेक्वान्दोबाहेक कुनै पनि खेलका खेलाडीले छनोट चरण पार गरी ओलम्पिक खेलेको इतिहास छैन । संगीना वैद्य र दीपक विष्टले त्यो उपलब्धी हासिल गर्नु भएको छ । उहाँहरू पछि तपाईंहरूलाई इतिहास रच्ने मौका छ,” सदस्य–सचिव घिसिङले भने, “निर्भीक भएर उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्नुस् । खेलका दौरान खेलाडी मात्र होइन प्रशिक्षक पनि चनाखो हुन एकदमै जरुरी छ ।”