
विराटनगर । पहिचान पक्षधरको आन्दोलनका क्रममा मृत्यु भएका मोरङको बेलबारीका पदम लिम्बूको परिवारलाई कोसी प्रदेश सरकारले पाँच लाख रुपैयाँ राहत दिने भएको छ । पहिचानवादीले कोसी नाम अमान्य भएको भन्दै त्यसविरुद्ध आन्दोलन गर्दै आएका छन् । लिम्बूलाई सरकारले सहिद घोषणा गरेको छ ।
आन्दोलनका क्रममा घाइते भएकाहरूको छानबिनका लागि समिति गठन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई जिम्मेवारी दिने मन्त्रिपरिषद्को निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले उक्त समितिले आन्दोलनका घाइतेको पहिचान गरेपछि उपचारलगायतको विषयमा प्रक्रिया अघि बढाउने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले बताए ।
यसैगरी, सरकारले सामाजिक विकास मन्त्रालयको ‘अबन्डा’ शीर्षकको बजेट विनियोजन गरी कार्यक्रम संचालन गर्न अनुमित दिएको छ । मन्त्रिपरिषदले तिहारमा लक्ष्मीपूजाको दिन आगलागीमा परी घाइते भएका मोरङका उर्लाबारीका पीडितको उपचार खर्चसमेत सरकारले दिलाउने मन्त्री राईले जानकारी दिए ।