बिर्तामोड । बिर्तामोड नगरपालिकाद्वारा सञ्चालित अस्पतालमा एक वर्षमा ३९ वटा डेलिभरीसहित ७६ हजार ५६९ जना विरामीलाई उपचार सेवा प्रदान गरेको छ ।
सेवा विस्तारलाई तीब्रता दिइरहेको नगर अस्पतालको प्रथम वार्षिकोत्सवमा अस्पतालका मेसु डा. सुनिल अधिकारीले दैनिक सेवाग्राहीको संख्या वृद्धि भइरहेको जानकारी दिएका हुन् ।
प्रथम वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित संक्षिप्त कार्यक्रममा मेसु अधिकारीले नगर अस्पताल नागरिकको सेवामा प्रतिवद्ध भई काम गरिरहेको पनि जानकारी दिए । उनले अस्पतलामा सेवा विस्तारसँगै विरामीको चाप बढिरहेको बताए ।
विरामीहरुले अस्पतालमा उपलब्ध सेवाबाट प्रभावकारी रुपमा लाभान्वित भएको जनाउँदै मेसु डा. अधिकारीले एक वर्षको अवधिमा दिइएको सेवाको विवरणसमेत सार्वजनिक गरेका हुन् ।
नगर अस्पतालले स्त्री तथा प्रसुति रोग, बालरोग विशेषज्ञ सेवा र मनोरोगको समेत सेवा उपलब्ध गराइरहेकोे अधिकारीले बताए । २४ घण्टा बर्थिङ सेन्टर सञ्चालन गरेको नगर अस्पतालमा ३९ जनाको डेलिभरी सफल भएको डा. अधिकारीको भनाई छ ।
बालरोग विशेषज्ञको सेवा सुरु भएपछि ७ हजार ५२१ जना १४ वर्षमुनीका बालबालिकालाई उपचार सेवा प्रदान गरिएको छ ।
नियमित खोप सञ्चालन हुने अस्पतालमा अहिले दादुरा रुवेला विरुद्धको खोपसमेत सञ्चालन भइरहेको छ । अहिले खोप लगाउन छुटेका बालबालिकाहरुलाई चैत २ गते नगर अस्पतालमा नै दादुरा रुवेला विरुद्धको दिइने डा. अधिकारीले जानकारी दिएका छन् । अस्पतालमा टिभी तथा लेप्रोसीको पत्ता लगाउने र उपचार काम भइरहेको छ ।
आधारभूतदेखि शल्यक्रियासम्मका सेवा दिँदै आएको नगर अस्पतालमा सेवा प्रवाहमा कुनै कञ्जुस्याई नगरेको उनको दावी छ ।
सो कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईले अस्पतालको सेवा विस्तारलाई प्राथमिकता दिएको बताइन् । उनले अस्पताललाई नगरवासीको स्वास्थ्योपचारमा भरपर्दो संस्थाको रुपमा स्थापित गर्ने बताइन् ।
विगतमा सिटामोल र आइरन चक्की मात्रै वितरण हुने अस्पतालको सेवा विस्तार धेरै अघि बढिसकेको उनको भनाई थियो ।
आगामी दिनमा नागरिकले खोजेका सबै प्रकारका स्वास्थ्य सेवा नगर अस्पतालमै उपलब्ध गराउन स्थानीय सरकार प्रतिवद्ध भएको नगरप्रमुख प्रसाईले बताइन् ।
विभिन्न चुनौतिका बाबजुत पनि नगर अस्पतालको सेवा प्रवाह सन्तोषजनक रहेको उनको भनाई छ । पैसा अभावले उपचार गर्न नसक्ने विपन्न परिवारहरुलाई उपचारमा कुनै पनि असुविधा नहुने धारणा राखेकी छन् ।
उनले अस्पतालको सेवा प्रवाहमा आवश्यक सूझावसमेत दिन आग्रह गरेकी छन् । नगर अस्पतालमा कार्यरत डाक्टर, सबै स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिदैं नगरप्रमुख प्रसाईले आगामी दिनमा समेत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सुझाव दिएकी छन् ।
प्रथम वार्षिकोत्सवमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, अस्पताल सञ्चालक समिति सदस्य लक्ष्मी आचार्य लगायतले उपचार सेवालाई थप प्रभावकारी बनाइने बताए । उनीहरुले आगामी दिनमा सेवा विस्तारलाई ध्यान दिने बताएका छन् ।