
झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सम्बन्धी गलत इतिहास सच्याउन माग गर्दै ७ दिने अल्टिमेटम दिएको छ ।
विभिन्न तथ्यका आधारमा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको तर श्रेष्ठलाई संस्थापक अध्यक्ष स्वीकार नगरेर श्रष्ठभन्दा पछिका कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष कायम गरिएको भन्दै फोनिज देशब्यापी आन्दोलनमा छ ।
आजको ७ दिनभित्र सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर्न माग गर्दै फोनिजले देशभरका शाखाहरुबाट अल्टिमेटम दिएको हो । माग पूरा नभए नेपाल पत्रकार महासंघका केन्द्रसहित देशैभरका कार्यालयहरुमा अनिश्चितकालीन तालाबन्दी गरिने ध्यानाकर्षण पत्रमा जनाइएको छ ।
देशब्यापी रुपमा आन्दोलनमा रहेको फोनिजले पत्रकार महासंघलाई अल्टिमेटम दिने क्रममा आज फोनिज झापा शाखाले पनि अल्टिमेटमसहित ज्ञापन–पत्र बुझाएको हो ।
फोनिज झापाका अध्यक्ष भूमिका फियाक लिम्बू, सचिव तिलक योञ्जन, संस्थापक अध्यक्ष दिपिन राई, पूर्व अध्यक्षहरु रमेश शमदर्शी राई, इन्द्रजित मुखिया, विशाल नेम्वाङ लगायत फोनिज पत्रकारहरुको समूहले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई अल्टिमेटमसहित ज्ञापन–पत्र बुझाएको हो ।
वि.सं २०१२ चैत १६ गते तत्कालीन ‘नेपाल पत्रकार संघ’ पुनर्गठित हुँदा कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति बनेको तथ्य सत्य भएको तर त्यसअघि वि सं. २००८ वैशाख ९ गतेको पत्रकार भेलाले सत्यनारायण बहादुर श्रेष्ठको नेतृत्वमा ‘नेपाल पत्रकार संघ’ गठन गरेको र २००९ वैशाख २८ गते श्रेष्ठकै सभापतित्वमा तत्कालीन नेपाल पत्रकार संघ पुनर्गठन भएको भन्दै श्रेष्ठ नै संस्थापक अध्यक्ष भएकाले फोनिजले इतिहास सच्याउन माग गरेको हो ।
फोनिजले सत्यनारायण बहादुर श्रेष्ठलाई महासंघको संस्थापक अध्यक्ष कायम गर्न २०७९ सालमा नेपाल पत्रकार महासंघका सबै समिति मार्फत माग गरेको थियो । तर, गलत इतिहास सच्याएर सर्वमान्य इतिहास स्वीकार्न नेपाल पत्रकार महासंघ तयार नभएका कारण गलत इतिहासलाई प्रश्रय दिने महासंघको नीतिविरुद्ध फोनिज निर्णायक आन्दोलनको चरणमा पुगेको हो ।
फोनिजले अल्टिमेटम सहित २०७९ सालमा बुझाइएको ज्ञापन–पत्र स्मरण गराउँदै पुनः ज्ञापन–पत्रसमेत बुझाएको हो ।