२०८१ पौष १२, शुक्रवार , ०९:३७:५१ बजे

Sajhamanch
'

शिशु चोरी प्रकरण : महिलाका पति र दिदीलाई प्रहरीले छाड्यो

आइतवार, फागुन १३, २०८०

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरिएको घटनामा पक्राउ परेकी महिला मनकुमारी सिंहका पति र दिदी हिरासतमुक्त भएका छन् ।

शिशु चोरिएको घटनामा उनीहरुको संलग्नता नदेखिएकाले दुई जनालाई छाडिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए । पक्राउ परेकी महिलाको अहिले केएमसी अस्पताल, सिनामंगलमा उपचार भइरहेको छ ।

शुक्रबार मध्याह्न १२ बजेतिर काभ्रेकी एक जना महिलाको २६ दिनको शिशु हराएको थियो । लगत्तै जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयले क्लोज सर्किट (सीसी) क्यामरा फुटेज संकलन गरेर अनुसन्धान थालेको थियो ।

त्यस क्रममा एक जना मास्क लगाएकी महिलाले शिशु लिएर हिँडेको पाइएको थियो । शुक्रबार राति १२ बजे प्रहरीले सिंहलाई काँडाघारीमा फेला पारेको थियो भने शिशुको पनि उद्दार गरेको थियो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार, केही दिनअघि मात्रै उनको गर्भ खेर गएको थियो । परिवारले प्रहरीलाई बताएअनुसार, उनी ७ महिनाको गर्भवती थिइन् । तर, बच्चा नरहेपछि उनी विक्षिप्त थिइन् ।

यसबारे उनले श्रीमानसँग पनि झुटो बोलेको पाइएको छ । बच्चा जन्मिएको भनेर खबर गरेपछि नेपाली सेनाको ड्यूटीमा रहेका उनका श्रीमान पनि घरमा आएका रहेछन् ।

‘प्रहरी पुगेपछि मात्रै बच्चा आफ्नो नभएको उनले थाहा पाएका हुन्’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘सुरुमा उनी आफ्नै बच्चा भनेर दंग परेर बसेका रहेछन् ।’

अनुसन्धानपछि उनको र मनकुमारीको दिदीको घटनामा संलग्नता नदेखिएपछि उनीहरुलाई छाडिएको प्रहरी अधिकृतहरु बताउँछन् ।

सम्बन्धित खबर