
बिर्तामोड । यही फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र व्यवसायिक प्यानलको पक्षमा समर्थन बढ्दै गइरहेको छ ।
आज सामाजिक क्षेत्रमा अग्रस्थानमा रहेको पशुपति युवा समूह र पशुपति इन्भेस्टमेन्ट ग्रुप प्रालिले अर्जुनकुमार मैनाली नेतृत्वको स्वतन्त्र प्यानललाई समर्थन जनाएको हो ।
अध्यक्ष पदका उम्मेदवार मैनालीसहित प्यानलका उम्मेदवारहरु र पशुपति ग्रुपबीच बिर्तामोडमा भएको अन्तरक्रियाबाट स्वतन्त्र प्यानललाई समर्थन जनाइएको पशुपति युवा समूहका पूर्व अध्यक्ष राजकुमार कार्कीले जानकारी दिए । उनका अनुसार कम्पनीमा मात्रै ६० सदस्य रहेका छन् ।
अहिलेसम्म उद्योग वाणिज्य संघ कुनै अमुक दलको भातृ संगठन जस्तो भएकोले व्यवसायीको हितमा काम गर्न स्वतन्त्र प्यानललाई समर्थन गरेको जनाइएको उनको भनाई छ । कार्कीले वाणिज्य संघको वेथिती सुधारका लागि र व्यवसायीको पक्षमा काम गर्ने उम्मेदवारहरु स्वतन्त्र प्यानलमा पाएको बताए ।
हामीले अर्जुन मैनालीसहित प्यानलका उम्मेदवार खोज्दै आएका हौ, इन्भेस्टमेन्ट ग्रुप प्रालिका अध्यक्ष रोशन बोहराले भने– अर्जुन मैनाली र उनको प्यानललाई जिताउनको लागि खम्बा भएर उभिने छौं ।
वाणिज्य क्षेत्रको परिवर्तनमा पशुपति युवा समूहको समर्थन स्वतन्त्र प्यानललाई भएको अध्यक्ष घनेन्द्र डाँगीले बताए ।