
काठमाडौं । नेपालले वाफ वुमेन्स च्याम्पिनयसिप २०२४ मा शनिबार प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्दैछ ।
लिग चरणको यो अन्तिम खेलले नेपाल सम्मिलित समूह ‘बी’ को शीर्ष स्थानमा रहने टिमको निर्धारण गर्नेछ ।
नेपाल र प्यालेस्टाइन दुवै यसअघि नै प्रतियोगिताको सेमिफाइनल पुगिसकेका छन् । नेपाल समूह बिजेता बन्नका लागि खेलमा जित वा बराबरी आवश्यक छ ।
नेपाली राष्ट्रिय टिमका लागि प्यालेस्टाइन नयाँ प्रतिद्वन्द्वी हो । नेपालले प्यालेस्टाइनको सामना गर्दा अन्तर्राष्ट्रिय फुटबलमा महिला टिमको यो ८७ औं खेल हुनेछ ।
नेपालसामु सातौं पल्ट लिग चरणका सबै खेल जित्ने अवसर हुनेछ । यसअघि नेपालले छ प्रतियोगितामा लिग चरणका सबै तीन खेल जितेको छ ।
यो खेल नेपालसामु लगातार तीन खेल जित्ने अवसर पनि हो । नेपालले अहिलेसम्म लगातार सबैभन्दा राम्रो प्रदर्शन सात खेलको जित हो । नेपालले सन् २०१३–२०१४ मा यस्तो उपलब्धी हात पारेको थियो ।
नेपाल पछिल्ला तीन खेलमा अपराजित रहेको छ । चीनको वेनचाउमा भएको बंगलादेशविरुद्धको खेलसँगै यस वाफ वुमेन्स च्याम्पिनयसिपमा अपराजित छ ।