बिर्तामोड । बिर्तामोड १० सैनिकबजारलाई फुटबलको उर्वरभूमि मानिन्छ । यहाँका खेलाडीहरुले नेपालमा मात्र नभएर अनतर्राष्ट्रिय क्षेत्रसम्म ख्याति कमाएका कारण सैनिकबजार फुटबलमा चिनिएको हो ।
खेल र खेलाडीलाई प्रवर्धन गर्नका लागि वडा खेलकुद विकास समिति बिर्तामोड १० ले लगातार फुटबल प्रतियोगिता गराउँदै आएको छ । सोही सिलशिलालाई निरन्तरता दिँदै वडा खेलकुद विकास समितिको आयोजनामा चौथो संस्करणको वडाध्यक्ष टोलस्तरीय फुटबल प्रतियोगिता गरिने भएको छ ।
आगामी चैत १६ गतेदेखि २५ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने विषयमा समितिले पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । उक्त प्रतियोगिता बिर्तामोड वडा नं. १० स्थित महन्द्रज्योति माविको खेल मैदानमा हुनेछ ।
बिर्तामोड १० मा मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन तथा खेल विकास गर्ने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजक वडा खेलकुद विकास समितिका अध्यक्ष सुरेन तुम्रोकले बताए ।
प्रतियोगिताको विजेताले नगद ३१ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता २१ हजार रुप्रयाँ प्राप्त गर्नुका साथै दुवै टिमलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगिताका हरेक खेलका म्यान अफ दि म्याच खेलाडीले एक हजार रुपैयाँ नगद, प्रतियोगिताभरि कै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट फरवार्डले नगद दुई हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गर्नेछन् ।
त्यसैगरी प्रतियोगिताको सर्वाधिक गोल गर्ने खेलाडी, राईजिङ प्लेयर र उत्कृष्ट टिम कोचले नगद दुई हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गर्ने आयोजक समितिले जनाएको छ ।
झापा जिल्लामै फुटबलको थलोको रुपमा मानिएको बिर्तामोड १० मा रहेका २६ टोलहरुमा केही टोलहरुलाई संयुक्त टीम बनाई जम्मा १० टिमको मात्र सहभागिता रहने उपाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । उनका अनुसार विभिन्न टोलभित्र रहेका खेलाडीहरुको खेल क्षमताको वृद्धि तथा विकासको लागि यो प्रतियोगिता संचालन गर्न लागिएको हो ।
प्रतियोगिता सम्पन्न गराउन ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको लागि बिर्तामोड नगरपालिका १० नं वडा कार्यालयले सहयोग गर्ने भएको छ ।