भद्रपुर । २८६०औं मञ्जुश्री सम्वत तथा सोनाम ल्होसारको अवसर पारेर नेपाल तामाङ घेदुङ नगर कार्य समिति भद्रपुरले विविध कार्यक्रम सम्पन्न गरेको छ ।
घेदुङले भद्रपुर २ स्थित कमलधाप बहुधार्मिक स्थलमा अग्रज व्यक्तित्व सम्मान, तामाङ साँस्कृतिक नृत्य प्रस्तुति तथा ल्होसारको बारेमा विविध प्रवचन कार्यक्रम सम्पन्न गरेको हो ।
घेदुङका नगर अध्यक्ष बसन्तकुमार तामाङको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष नरबहादुर तामाङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की, भद्रपुर २ का वडाध्यक्ष रामबहादुर कँडेल, घेदुङका झापा जिल्लाका पूर्व अध्यक्ष कृष्ण गोले, १ नम्वर इलाका संयोजक विशाल थिङ लगायतले मन्तव्य राख्दै नेपालको मौलिक पहिचान बोकेको मञ्जुश्री सम्वत बारे आफ्ना धारणा राखेका थिए ।
घेदुङका नगर सचिव राकेश तामाङ र सञ्चारकर्मी कृति तामाङले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रममा तामाङ समुदायको उत्थानमा योगदान दिने विभिन्न अग्रज व्यक्तित्वलाई सम्मान गरिएको थियो भने विविध तामाङ संस्कृति झल्कने नृत्य समेत प्रस्तुत गरिएको थियो ।