२०८१ मंसिर १५, शनिवार , ११:५३:३८ बजे

Sajhamanch
'

सडक किनारमा ४० वर्षदेखि दाम्ला बेचिरहेका दाहालका कुरा

शनिवार, फागुन ५, २०८०

कनकाई । उमेरले नौ दशकको छेऊ पुग्दै गर्दा पनि निरन्तर श्रम र पसिना बगाइरहेका कनकाई नगरपालिका वडा नं. ७ लक्ष्मीपुरका लक्ष्मीप्रसाद दाहाल (८७) जीविकोपार्जनका लागि ४० वर्षदेखि सडक किनारमा दाम्ला डोरी बाटिरहेका छन् ।

अहिलेसम्म आफ्नो घर नभएका उनको परिवार भाडामा बस्ने गरेकाले छोराको कमाइले मात्र घर चल्न नसकेपछि आफैं श्रम गरेर नून तेलको जोहो गर्न ४० वर्षयता निरन्तर दाम्ला डोरी बाटेर बिक्री गरेको पैसाले जीवनयापन गरिरहेको पाइएको हो ।

लक्ष्मीपुर चौकमा दैनिक दाम्ला डोरी बाटिरहेको भेटिने दाहालले जीवनयापनका लागि यही कार्यलाई पेशा बनाएको पनि ४० वर्ष पूरा भइसकेको छ । घामपानी, जाडोगर्मी सहेरै सडक किनारलाई कर्मथलो बनाएका दाहाल आफूलाई बाँचुञ्जेल कर्मशील बनाउन चाहन्छन् ।

छोराले कम छोडेर आराम गर्न सुझाव दिने गरे पनि उनीहरूको कमाइले मात्र गाँस र बासको व्यवस्थापन सहज नहुने अवस्थाकै कारण सडक किनारमा श्रम पसिना बगाइरहेको उनको कथन छ ।

सरकारले दिने बृद्धभत्ताले मुस्किलले दालचामको व्यवस्था गर्न सके पनि नूनतेल र तरकारीको जोहो गर्न नाम्ला डोरी बाट्नु पर्ने बाध्यता सुनाउँदै दाहालले ४० रूपैयादेखि ६० रूपैयाँसम्ममा बेचेका नाम्ला र डोरीबाट आउने पैसाले जीवन चलिरहेको बताए ।

जीवनको उत्तराद्धमा पनि निरन्तर काम गरिरहेका दाहाल रहरले भन्दा बाध्यताले श्रमशील हुनुपर्ने सुनाउँछन् । उनी अर्काले दिन्छ र खाउँला भन्ने आशे जीवनबाट मुक्त हुन पनि दैनिक श्रम गरिरहेको प्रष्ट पार्छन् । उनी भन्छन् ‘मेरो जीवन त उत्तरार्धमा पुगेको छ तर मन भन्छ बाँचुञ्जे निरन्तर श्रममा विश्वास गर । त्यसैले श्रम गरिरहेको छु ।’

उनको निरन्तरको परिश्रम देख्नेहरूले नै नाम्ला डोरी किनेर लाने गरेको स्थानीय बताउँछन् । पुराना कपडा संकलन गरेर नाम्ला डोरी बनाउने दाहाललाई आफ्नो पेशाप्रति निकै गौरव महशुस हुन्छ ।

यही पेशाबाट अहिलेसम्म जीवनको गति सहज भइरहेको बताउने उनी काम ठूलो र सानो नहुने प्रष्ट पर्छन् । काम गरेर खानु माहानता हो ढाँटेर, छलेर वा मागेर खानु चाहिँ नपरोस् भन्ने भावना बोकेका दाहाल बाँचुञ्जेल यही पेशा गरिरहने बताउँछन् ।

सम्बन्धित खबर