२०८१ मंसिर १५, शनिवार , ०४:३२:५५ बजे

Sajhamanch
'

धार्मिक तथा ऐतिहासिक घैलाडुब्बा मन्दिरको स्तरबृद्धिमा मेचीनगर नगरपालिकाको चासो

शुक्रवार, फागुन ४, २०८०

मेचीनगर । पूर्वको धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको नन्देश्वर शिवालय (घैलाडुब्बा मन्दिर) स्तरोन्नतिका लागि मेचीनगर नगरपालिकाले चासो दिएको छ ।

प्रचुर सम्भावना भएर पनि विविध कारणले विगत लामो समयदेखि ओझेलमा पर्दै जीर्ण अवस्थामा रहेको मेचीनगरको उक्त मन्दिर स्तरबृद्धि गर्दै पुनः यस क्षेत्रलाई चलायमान बनाउन स्थानीय सरकार मेचीनगर लागि परेको हो ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेतीसहितको जनप्रतिनिधिको टोलीले पुरातात्त्विक महत्व बोकेको तर हाल जीर्ण अवस्थामा रहेको मेचीनगर ५ र ८ स्थित घैलाडुब्बा शिवालय मन्दिर स्तरबृद्धि गर्न प्राथमिकताका साथ चासो दिएर काम अगाडि बढाइरहेका छन् ।

सोही कार्यलाई निरन्तरता दिँदै नगरपालिकाले पुरातात्त्विक विभागको उपसचिवसहितको टोलीलाई स्थलगत रूपमा सो क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न आवश्यक बजेट छुट्याएर सहयोग पुर्याउन आग्रहसमेत गरेको छ ।

मेचीनगरको पहिचानको रूपमा रहेको सो मन्दिरलाई स्तरबृद्धि गर्दै आवश्यक मर्मत सम्भार गर्नसके यसले समग्र मेचीनगरको आर्थिक विकासमा टेवा पुर्याउने नगरप्रमुख बुढाथोकी बताउँछन् ।

उनले यस क्षेत्रलाई धार्मिक तथा पर्यटनसंग जोडेर नगरको आम्दानीको स्रोतको रूपमा यसलाई अगाडि बढाउने योजना रहेको पनि बताए ।

पूर्वकै पुरानो विरासत बोकेको यस ऐतिहासिक क्षेत्रलाई स्थानीय सरकारको तर्फबाट आवश्यक समन्वय गरी अगाडि बढ्ने उपप्रमुख उप्रेतीको भनाई छ । उनले सो क्षेत्रको विकासका लागि आफूहरू लागिपरिरहेको बताउँछिन् ।

यसअघि नगरपालिकाको आग्रहमा पुरातात्त्विक विभागबाट ३३ लाखको बजेटमा जीर्ण रहेको मुख्य मन्दिर बनाउने कार्य चलिरहेको बताउँदै त्यसलाई पूर्णरूपमा सम्पन्न गर्न आफूहरू लागि परिरहेको उनको भनाई छ ।

यता पुरातात्त्विक विभागका उपसचिवले बजेट अभावले अधुरो रहेको सो मन्दिर अब निरन्तर अगाडि बढ्ने बताए । उनले यी र यस्ता पुरातात्त्विक मठ मन्दिरको संरक्षण गर्न पुरातात्त्विक विभाग लागि परिरहेको बताए ।

अनुगमनमा नगरप्रमुख, उपप्रमुख, पुरातात्त्विक विभागको उपसचिव सहितको टोली, मेचीनगर ५ का वडाध्यक्ष कनक कार्की, ८ का वडाध्यक्ष गिरीराज धमलालगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर