
काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको क्वाटरफाइनल खेलमा आज कुवेतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा बाँगीमा सुरु हुनेछ ।
नेपाल समूह डीको विजेता र कुवेत समूह ए को उपविजेताको रुपमा क्वाटरफाइनलमा भिड्न लागेका हुन् । नेपालले समूह चरणमा हङकङ र भुटानलाई समान ८ विकेटले हराएको थियो । माल्दिभ्सलाई २१४ रनले हराएको थियो । माल्दिभ्सविरुद्ध रुविना क्षेत्रीले ११८ रनको शतकीय इनिङ खेलेकी थिइन् ।
युवा ब्याटर पूजा महतोसँग पाँचौं विकेटका लागि १६६ रनको साझेदारी समेत गरेकी थिइन् । पुजाले ३६ बलमा ५ चौका र १ छक्कासहित ५९ रन बनाएकी थिइन् ।
नेपालको सीता रानामगर, रुविना क्षेत्री र इन्दु बर्मा प्रमुख हतियार हुन् । यी तीनमध्ये एकले ठूलो इनिङ खेल्नुपर्ने हुन्छ । कविता कुँवर र आश्मिना कर्माचार्य प्रमुख बलर हुन् ।
उता कुवेतले समूह चरणमा म्यानमारलाई २७ रन र सिंगापुरलाई १० विकेटले हराएको थियो । थाइल्यान्डसँग ९६ रनले पराजित भएको थियो । कुवेतकी प्रियादा मुराली र जिफा आजीम प्रमुख ब्याटर हुन् । यी दुई ब्याटरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।
२०१९ यता नेपाल र कुवेतबीच चार महिला टी-२० आई खेल भएका छन् । नेपाल ३४ रन, २५ रन, ९ विकेट र ३० रनले विजयी भएको थियो ।
पहिलो क्वाटरफाइनलमा हङकङ र थाइल्यान्ड खेलेका छन् । त्यस्तै दोस्रो क्वाटरफाइनलमा इन्डोनेसिया र यूएई खेलेका छन् । तेस्रो क्वाटरफाइनलमा मलेसिया र जापान भिड्नेछन् । सेमिफाइनल हुँदै फाइनल पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउनेछन् ।