मेचीनगर । झापाको मेचीनगर वडा नं. १३ मा पर्ने हातेमालो सामुदायिक वन उपभोक्ता समूहले पर्यटन प्रवर्धन गर्न देशकै नमूना सिमसार क्षेत्रको विकास गरेको छ । प्राकृतिक सम्पदाको मनोरम स्थलसँगै जरुवा पानीको भेललाई ब्यवस्थापनसहित संरचना विकास निर्माणको कार्ययोजना अघि बढाउँदै वनक्षेत्रलाई नमूना सिमसार क्षेत्रको रुपमा अघि बढाएको हो ।
पूर्वका सामुदायिक वन उपभोक्ता समितिहरु पर्यटकीय क्षेत्र निर्माणमा होडबाजी नै गरिरहेको भान हुन्छ । यही मेसोमा मेचीनगर–१३ स्थित वन समूहले पनि निचाझोडा सिमसार तथा पर्यापर्यटन क्षेत्र बनाउने कार्यलाई तीब्र रुपमा अघि बढाएको हो । प्राकृतिक वन सम्पदाको बीच भागमा प्रयोग नभएको पानी उम्रिने जमिनलाई वन समूहले पर्यटकको आकर्षक गन्तव्यस्थलको रुपमा विकास गर्दै देशकै नमूना सिमसारको कार्ययोजना अघि सारेको वन समूहका अध्यक्ष चन्द्र सिग्देलले बताएका छन् ।
समूहले निचाझोडा सिमसार तथा पर्यापर्यटन क्षेत्रको विकासका लागि बीच भागमा टापु र त्यस वरिपरि फेवातालको दूरदृष्टि परिकल्पनासहित विकासका रुपरेखा तयार गरेको हो । हाल उक्त फेवातालबाट आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्दा आम्दानीसमेत गर्न थालको छ ।
पोखरीमा ६ वटा डुङ्गा हालेर आम्दानी गर्दै आएको समितिले आगन्तुकको माग अनुसार अरु १० डुङ्गामा थप गर्ने सोचमा रहेको बताइएको छ ।
यसवर्ष पोखरीमा १ लाख माछाका भुरा हालेको जनाइएको छ । फेवातालमा पालेको माछा बल्छी गरेर झिक्ने (फिसिङ)को अर्को छुट्टै योजना रहेको अध्यक्ष सिग्देलको भनाई छ । यो पनि मनोरञ्जनात्मक हुनेमा समिति विश्वस्त रहेको अध्यक्ष सिग्देलको भनाई छ ।
हाल वरिपरी फेवातालको बीचमा रहेको खुल्ला ठाउँमा ६ वटामात्रै गोलघर निर्माण गरेको छ । सातामा शनिबार र छुट्टिको दिन दर्जनौं सेमिनार, पार्टी, वनभोज समूह आउने गरेका छन् भने २० वटा गोलघर थपेर एकैसाथ १ सयभन्दा बढी पार्टी, वनभोज र कार्यक्रम गर्नसक्ने क्षमताको रूपमा सिमसारलाई विकास गर्ने योजना अघि सारेको जनाइएको छ।
स्थानीय सरकाार र वन समूहको करिब अढाई करोड रुपैयाँ बजेटमा फेवातालको उत्खनन, ब्यवस्थापन, २ वटा आकर्षक पूल निर्माण, बिजुली, खानेपानीको ब्यवस्थापन, गोलघर निर्माण, ६ वटा डुङ्गा खरिद, गेटसहित सुरक्षा प्रदान गर्न २० फुटे अग्लो घर निर्माण, तारजाली कम्पाउण्ड, बाटो निर्माण र ग्राबलिङ गरेको छ ।
स्थानीय सरकार वडा कार्यालयले पटकपटक गरेर २७ लाख, मेचीनगर नगरपालिकाबाट फलामे पूलसहित १५ लाख बजेट बिनियोजन गरेको छ भने अन्य बजेट वनको आन्तरिक श्रोतबाट ब्यवस्थापन गरेको छ । वनले आन्तरिक श्रोतबाट ६ वटा गोलघर निर्माणसमेत गरेको छ ।
विकास निर्माणअन्तर्गत आगामी प्रदेश सरकारको बजेट २५ लाख रुपैयाँबाट पानीको फोहोरा र चिल्ड्रेन पार्क निर्माण गर्ने, ३ वर्षे क्रमागत २२ लाख बजेटबाट सिमसारको उत्तरपट्टी र पश्चिममा पोखरी निर्माण गर्ने, वन मन्त्रालयको २५ लाख बजेटबाट जलाधार निर्माणको तयारी गरिएको अध्यक्ष सिग्देलको भनाई छ ।
३९० हेक्टरमध्ये ३२ बिगाह खाली जमिनमा फैलिएको सिमसार खुल्ला र घमाइँलो ठाउँ दैनिक जीवनयापनलाई सहज बनाउन प्रयोग गरिएका ढिक्की, जाँतो, ठेकीलगायत लोपोन्मुख बस्तु संरक्षण गर्ने, मनोरञ्जनका लागि काठको रोटेपिङ्ग निर्माण गर्ने, स्थानीय संस्कृतिलाई जगेर्ना गर्न विभिन्न सम्प्रदायका मठमन्दिर गुम्बा एवम् धार्मिक संरचनाको निर्माण गर्ने साथै एग्रो टुरिजमको रुपमा विकास गर्ने भावी योजना रहेको अध्यक्ष सिग्देलको भनाई छ ।
झापाका ५९ वटा सामुदायिक वनमध्ये ३५ वटाबढीले वनले पर्यापर्यटन क्षेत्रको रुपमा विकास गरेको जिल्ला वन कार्यालयका ऋषि पराजुलीले जानकारी दिए । उनका अनुसार वनको नियम अनुसार नै वनले पर्यापर्यटन क्षेत्रको रुपमा विकास गरेका छ्न् । तीमध्ये चौतर्फी सम्भावना देखिएको हातेमालो वनभित्रको निचाझोडा सिमसार पर्यापर्यटन क्षेत्रलाई विकास गर्नसके देशकै नमूना बन्ने पराजुलीको भनाई छ ।
नमूना फेवाताल सुरक्षित छ
घना वनको बीच र प्राकृतिक सुन्दरताले रमणीय हराबरा स्थलको रुपमा रहेको निचाझोडा सिमसार तथा पर्यापर्यटन क्षेत्रलाई सुरक्षित बनाउन योजना अघि सारेको छ । कुनैपनि अप्रिय घटना नहोस् भनेर सीसी क्यामरा जडान गरी रेखदेख गर्ने गरिएको छ । २ जना हेरालुलाई सिमसार स्थलमै ब्यवस्थापन गरिएको छ ।
वनभित्र हिंस्रक जनावर नभए पनि आगन्तुक रैथाने जनावरका लागि सोलार फेन्सिङ तारबारको ब्यवस्थापन लागि योजना अघि सारिएको छ । सेन्सर साइरन जडान गर्ने योजना पनि अघि सारेको छ भने विद्युत प्राधिकरण बिर्तामोडको सहयोगमा सिमसारस्थलको वरिपरि विद्युत पोलसहित स्काई लाइटको ब्यवस्थापन गर्ने योजना रहेको जनाइएको छ । ३ किलोमिटर दूरिमा प्रहरी चौकी र नेपाली सेनाको ब्यारेक रहेकोले सुरक्षाका दृष्टिको सो सिमसार क्षेत्र सुरक्षित रहेको पाइन्छ ।
सिमसारको इतिहास
वि. सं. २०३५ साल अघि सिमसार क्षेत्रमा पहाडे, राजबंशी, धिमाल समुदायले झाडी फाँडेर बसोबास गरेका थिए । कहिँले नसुक्ने जरुवा खोलो थियो त्यो । मान्छे मर्दा अन्त्येष्टि गर्ने ठाउँ पनि त्यही थियो । पानीको सिम क्षेत्र भएकाले त्यहाँ अन्यसँगै झिँगे माछा बढी नै पाइन्थ्यो । त्यसैले राजबंशी समुदायले आफ्नो भाषा प्रयोग गर्दै झिंगे माछा कै नाम निचाझोडा राखेका थिए । सो नाम हालसम्म पनि प्रख्यात छ । पछि चारआलीमा नेपाली सेनाको ब्यारेक स्थापना भयो । सेनाले वनको रेखदेख गर्ने जिम्मेवारी पाएको थियो ।
ब्यारेक वरिपरिको जमिनमा वनभित्रको, ऐलानी जग्गा, स्कूलको जमिनमा खनजोत गर्दै नेपाली सेनाको खाद्यान्नको जोहो गर्नुपथ्र्यो । सिमसार क्षेत्र पनि सेनाले नै खनजोत गर्दै आएका थिए । २०६३ सालमा देशभर वनको रेखदेख गर्न समुदायलाई जिम्मा दिएपछि हातेमालो सामुदायिक वन उपभोक्ता समूह गठन भएको हो ।
वनमा तत्काल स्थानीय अर्जुन थेवेको संयोजकत्वमा समिति गठन गरिएको थियो । त्यसपछि स्थानीय जयप्रसाद थेवे अध्यक्ष हुँदै २०७२/७३ सालमा बिदुर शिवाकोटीको अध्यक्षतामा बनेको कार्यसमितिले निचाझोडा सिमसारलाई पर्यटकीय क्षेत्रको रूपमा अवधारणा अघि बढाएका थिए ।
कसरी पुगिन्छ नमूना फेवाताल ?
पूर्वको झापा जिल्लाको भद्रपुर विमानस्थलदेखि चन्द्रगढीचोक देखि चारआलीरोड हुँदै ९ किलोमिटर उत्तर, पूर्वीनाका काँकर्भिट्टाबाट पूर्वपश्चिम लोकमार्गबाट पश्चिम चारआली चोकदेखि ३ किलोमिटर दक्षिण पुरानो लुना मल र गोरखकाली सिमेन्ट उद्योगको बिच पश्चिमपट्टीको हातेमालो वनको बाटोमै होडिङ बोर्ड देख्न सकिन्छ । सोही वनको बाटो हुँदै ५०० मिटर पश्चिममा सिमसार स्थल पुगिन्छ ।