२०८१ पौष १२, शुक्रवार , ०८:३७:४८ बजे

Sajhamanch
'

राजविराज कारागारको शौचालयमा बन्दी मृत फेला

आइतवार, माघ २८, २०८०

सप्तरी । बलात्कारको आरोपमा पुर्पक्षका लागि राजविराज कारागारको थुनामा रहेका बन्दी मृत फेला परेका छन् ।

राजविराज कारागारको थुनामा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय देवेन्द्र मण्डल आइतबार बिहान मृत अवस्थामा फेला परेका कारागारका निमित्त प्रशासक सदानन्द दासले जानकारी दिए । उनका अनुसार, मण्डलको शव कारागारभित्रको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको हो ।

गएको साउन १३ गते राति १५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा मण्डल भदौ ११ देखि पुर्पक्षका लागि कारागारमा बन्दी थिए ।

बालिकालाई घरबाट जबरजस्ती तानेर ५०० मिटर पूर्वपोखरीको डिलमा लगेर बलात्कार गरेको भन्दै पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका थिए ।

हनुमाननगर कंकालिनी–६ का २३ वर्षीय देवनाथ मण्डल, २३ वर्षीय श्यामसुन्दर मण्डल र २० वर्षीया जसोधाकुमारी मण्डलले हातखुट्टा समातेपछि देवेन्द्रले बालिकाको सिउँदोमा सिन्दूर हालेको पीडितका बुवाको भनाइ थियो ।

जिल्ला प्रहरी कार्यालयले मण्डललाई साउन १७ गते पक्राउ गरेको थियो । प्रहरी कार्यालयमा साउन १८ गते बलात्कारको उजुरी दर्ता भएकामा सप्तरी जिल्ला अदालतमा भदौ १० गते अभियोगपत्र दायर भएको थियो । जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले मण्डललाई भदौ ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा राख्ने आदेश दिएको थियो ।

पासोमा झुनिडएर आत्महत्या गरेका मण्डलको घटना थाहा पाएलगत्तै कारागार प्रशासनले परिवारलाई जानकारी दिएको निमित्त कारागार प्रशासक दासले बताए । परिवारका सदस्य आएपछि शवको मुचुल्का गरिने उनले जानकारी दिए ।

सम्बन्धित खबर