२०८१ पौष २७, शनिवार , ०५:१९:४६ बजे

Sajhamanch
'

पथरीशनिश्चरेकी कार्कीलाई कर्णली साकोसद्वारा ४८ हजार २०० रुपैयाँ उपचार सुविधा प्रदान

आइतवार, माघ २८, २०८०

पथरी । कर्णाली बचत तथा ऋण सहकारी संस्था पथरी सेवा केन्द्रले स्वास्थ्य बीमा वापत एकजना सदस्यलाई उपचार रकम प्रदान गरेको छ ।

मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. १ निवासी पुनम कार्कीलाई विशेष उपचार कोषमार्फत ४८ हजार २०० रुपैयाँ उपचार सहयोग रकम प्रदान गरिएको हो ।

कर्णाली साकोसले आफ्ना सेयर सदस्य बिरामी भई उपचारार्थ अस्पताल बस्नु परेको अवस्थामा १० लाख रुपैयाँसम्म रकम प्रदान गर्ने कार्यक्रम बनाएको छ । कर्णली साकोसले विशेष उपचार कोषको व्यवस्था गरी सो कोषमा एकपटक ५ हजार रुपैयाँ जम्मा गरेपछि सदस्य बन्न पाइने र हरेक वर्ष एक–एक हजार रुपैयाँ थप गरी नविकरण गरेमा सो सेवा लिन सकिने व्यवस्था गरेको छ ।

सोही अनुरुप कार्कीले पनि एक वर्ष अगाडि पथरी सेवा केन्द्र स्थापना गर्दा विशेष उपचार कोषको सदस्यता लिएकी थिइन् । हालै उनलाई एपेण्डीसाईड र पाठेघरमा ऐंजेरु पलाएको कारण काठमाडौंस्थित नर्भिक अस्पतालमा शल्यक्रिया गराउनु परेको थियो । सोही उपचार खर्चको ४० प्रतिशत रकम कार्कीले उपचार राहतस्वरुप कर्णालीबाट प्राप्त गरेकी हुन् ।

सो कोषमा आवद्ध भएको १ वर्ष पछि यस्तो सुविधा पाइने तथा १ देखि ५ वर्षसम्म उपचर खर्चमा ४० प्रतिशत र ५ देखि १० वर्ष सम्म ६० प्रतिशत सुविधा लिन सकिने पथरी सेवा केन्द्र प्रमुख साबित्रा भट्टराईले जानकारी दिएकी छन् ।

झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको सेवा कोशी प्रदेशका इलाम र मोरङमा विस्तार गरिएको छ । संस्थाले यी तीन जिल्लामा ४२ वटा सेवाकेन्द्र मार्फत आफ्ना सेयर सदस्यहरुलाई वित्तीय सेवाका साथै उपचार राहत सुविधा र मृत्यु राहत उपलब्ध गराउँदै आएको छ ।

सम्बन्धित खबर