विराटनगर । कोसी सरकार र पहिचानवादीबीच वार्ता सुरु भएको छ । पहिचानवादीले बुधबार समिति गठन गरेसँगै आज विराटनगरस्थित बिग होटलमा वार्ता सुरु भएको हो ।
कोसीले सरकारले पहिचानवादीलाई वार्तामा आउन औपचारिकरूपमा पत्राचार गरेको थियो ।
बुधबार प्रदेशको पुनस्नामकरणको माग गरिरहेका विभिन्न संगठनहरूको संयुक्त बैठकले समिति बनाएर वार्तामा बस्ने निर्णय गरेको थियो ।
सरकारका तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरिएको छ । वार्ता टोलीमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेती र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सदस्य सचिव छन् ।
०७९ फागुन १७ गते बसेको प्रदेशसभा बैठकबाट प्रदेश नम्ब १ को नाम कोसी कायम भएको थियो । त्यसबेला नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई तिहाइ भन्दा बढी सांसदको बहुमतबाट कोसी नामकरण भएको थियो ।
तर, कोसी नामाकरणविरुद्ध पहिचानवादीहरूले आन्दोलन घोषणा गरेका थिए । आन्दोलनका क्रममा विराटनगरमा भएको झडपमा परी एक जनाको मृत्यु भएको थियो ।