
ताप्लेजुङ । २३ दिनको बच्चा लिएर माइत हिँडेकी एकजना महिला मृत भेटिएकी छिन्। पाँचथरको याङ्वरक गाउँपालिका वडा नं. ६ नागीबाट ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं २ फुलवारीतर्फ गएकी यमुना भूर्तेल चापागाइँ मृत भेटिएकी हुन्। उनीसँगै रहेको बच्चाको अवस्था भने अज्ञात छ। तमोर नदी किनारको मित्ला पुल नजिकै ज्याकेट, झोला र मोबाइल भेटिएको स्थानीयले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) राजन लिम्बूले महिला मृत भेटिएको र बच्चाको अवस्था अहिलेसम्म थाह हुन नसकेको बताए।
प्रहरी निरीक्षकको नेतृत्वमा घटनास्थलतर्फ प्रहरी टोली परिचालन गरिएको र स्थानीय बासिन्दा तथा प्रहरी टोलीले बच्चाको खोजी कार्य जारी राखेको उनले बताए।
घटनाबारे अनुसन्धान सुरु भएको पनि उनले बताए।