भद्रपुर । नेपाली कांग्रेसको ७८औं स्थापना दिवसको अवसर पारेर काँग्रेसका एकजना महामन्त्री गगनकुमार थापाले झापाको भद्रपुरबाट ‘संवाद यात्रा’ सुरू गरेका छन् ।
माघ १३ गतेदेखि हुलाकी सडकको पहिलो बिन्दू भद्रपुरस्थित मेची पूलबाट महामन्त्री थापाले बिहान ८ बजे यात्रा सुरू गरेका हुन् । नागरिकसँगको संवाद यात्रा २६ गते कञ्चनपुरस्थित महाकाली नदीमा टुंगिने गरी सुरू गरेको जनाइएको छ ।
समुदायमा कांग्रेस अभियानअन्तर्गत यात्रा शुभारम्भ कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य मधु आचार्य, प्रदीप पौडेल, अमृत अर्याल, गोमाकुमारी घिमिरे भट्टराई, शुशिला ढकाल, कोशी प्रदेश सभापति उद्धव थापा, नेता गुरूराज घिमिरे लगायत जिल्ला सभापतिहरू सहभागी थिए ।
मेची पूल पश्चिमपट्टि ५ वटा वृक्षरोपण गरेर सुरू भएको अभियानमा झापाका स्थानीयले हात्तीका कारण उत्पन्न समस्या, वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता, किसानका समस्या, सडक, पूलका समस्या, शिक्षा तथा स्वास्थ्य उपचारका समस्या बारेमा संवाद गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले नागरिकमा देखिएको निराशाको पहिचान गरी आशावादी जीवनशैली निर्माण गर्न संवाद यात्रा तय गरेको बताए । उनले हिजो राजनीतिक लडाई पहिलो प्राथमिकतामा थियो भने आज आर्थिक उन्नतिका लागि जनमैत्री शासन आवश्यक रहेकाले शिक्षा र स्वास्थ्यमा सुधार ल्याउन राजनीतिक भागबण्डा अन्त्य गर्न सदन मार्फत सरकारलाई खबरदारी गरिरहेको बताए ।
महामन्त्री थापाले काँग्रेस स्थापनाकालदेखि नै किसान र मजदुरको पार्टी भएकाले अव नवीन काँग्रेस निर्माणका लागि किसान र मजदुरका सबै समस्या हल गर्न काँग्रेस सक्षम हुनेसमेत धारणा राखे ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले नागरिकको भरोसायोग्य पार्टी नेपाली काँग्रेस मात्र भएकाले विगतका गल्ति कमजोरी सच्याएर समृद्ध नेपाल अभियानका लागि भुँइ मान्छेका पक्षमा काँग्रेस अगाडि बढिरहेको धारणा राखे । उनले नागरिकका निरासालाई राजनीतिले चिरेर आशा र भरोसा दिलाउनु पर्नेमा निराशामा खेलेर राजनीतिक व्यापार गरिरहेको भन्दै सबै दलहरू देश र जनताप्रति इमान्दार बन्नु पर्ने धारणा राखे ।
कार्यक्रममा पूर्व महामन्त्री तथा राष्ट्रिय सभामा नवनिर्वाचित सदस्य कृष्णप्रसाद सिटौलाले अबको काँग्रेस गगन—विश्वजस्ता युवाको काँधमा रहेकाले राष्ट्र, राष्ट्रियता र नागरिकको उन्नतिका लागि निस्वार्थ भएर अगाडि बढ्न आग्रह गरे । नेता सिटौलाले देशको उन्नतिका लागि किसान र मजदुरको उन्नति हुने कार्य आजको आवश्यकता भन्दै सिद्धान्तमा भन्दा व्यवहारमा राजनीति अग्रसर हुनुपर्ने धारणा राखे ।
देशभरका पार्टीका कार्यकर्ता र जनताका गुनासा र सुझाव लिन महामन्त्री थापाले संवाद यात्रा सुरु गरेको दावी गरिएको छ । संवाद यात्रामा जनताका कुरा सुन्ने, आफ्ना कुरा नभन्ने अथवा भाषण नगर्ने जनाइएको छ ।