
इलाम ।इलामको पशुपतिनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०र८१ को पुससम्ममा एक करोड ३४ लाख १३ हजार राजस्व संकलन गरेको छ।यो लक्ष्यको ६९.९६ प्रतिशत हो। आव २०८०र८१ मा भन्सारले एक करोड ९१ लाख ७१ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको थियो।
यसैगरी आव २०७७र७८ मा एक करोड ८९ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको पशुपतिनगर भन्सारले एक करोड दुई हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालय प्रमुख प्रवीन सुब्बाले जानकारी दिए। यस्तै आव २०७८र७९ मा रु दुई करोड ५३ लाख ४० हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ८७ लाख ३८ हजार रुपैयाँ संकलन भएको थियो।
कार्यालय प्रमुख सुब्बाका अनुसार आव २०७९र८० मा दुई करोड ५० लाख ८५ हजार संकलन गर्ने लक्ष्य लिएकोमा दुई करोड ७१ लाख ८२ हजार रुपैयाँ संकलन गरिएको थियो। अवैध कारोबारअन्तर्गत बरामद भएको सामग्री लिलामीबाट सबैभन्दा बढी राजस्व संकलन भएको हो। पशुपतिनगर भन्सारअन्तर्गत आठ छोटी भन्सार कार्यालय रहे पनि ती सबै बन्द छन्।
कार्यालय प्रमुख सुब्बाले नेपालतर्फ भन्सार भए पनि भारतमा भन्सार कार्यालय नहुँदा समस्या भएको बताए। खुला सीमानाका भएका कारण चोरी पैठारी रोक्न कठिनाइ भएको उनको भनाइ छ।