२०८१ माघ १५, मङ्गलवार , १०:०१:०६ बजे

Sajhamanch
'

बहुउद्देश्यीय संयुक्त सहकारी कृषिफर्मको चौथो वार्षिक साधारण सभा सम्पन्न

शुक्रवार, माघ १२, २०८०

कमल । झापाको कमल गाउँपालिका वडा नं. १ मा रहेको बहुउद्देश्यीय संयुक्त सहकारी कृषिफर्मको चौथो वार्षिक साधारण सभा हालै सम्पन्न भएको छ ।

कमल गाउँपालिकामा रहेका नवोदय, पूर्वनेपाल र इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाहरुको संयुक्त प्रयासमा विगत चार वर्षदेखि ४८ बिगाहा जमिन भाडामा लिएर कृषि फर्म सञ्चालन गरिँदै आएको छ । सो फर्मको वार्षिक साधारणसभा सहकारी अभियन्ता रामचन्द्र उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको हो ।

फर्मका अध्यक्ष सीताराम ढकालको अध्यक्षतामा आयोजित कार्यक्रमको कमल गाउँपालिका वडानम्बर १ का वडाध्यक्ष केदार कटुवाल र सहकारी अभियन्ता उप्रेतीले संयुक्तरुपमा पानसमा बत्ती बालेर उद्घाटन गरिएको थियोे ।

सो कार्यक्रममा मन्तब्य राख्दै सहकारी अभियन्ता रामचन्द्र उप्रेतीले आफ्नो उद्देश्य अनुसार नचलेका धेरै सहकारी संस्थाहरु धराशायी बन्दै गएको प्रष्ट पारेका थिए ।

उनले भने, ‘आफ्ना सदस्यहरूको हरेक सुखदुःखमा साथ दिँदै उनीहरुलाई उद्यमशीलतासँग जोडेका संस्थाहरु आज सफल बन्दै गएका छन् । नाफा बाँढ्ने होडबाजीमा चलेका सहकारी अहिले समस्यामा परेका हुन् । तर अब क्रमशः सहकारीमा मन भएका एक ठाउँमा हुनेछन् भने धन भएका आफैं पाखा लाग्दै जाने हुँदा सहकारीको वातावरण सग्लिँदै जानेछ ।’

साधारणसभाका अर्का वक्ता वडाध्यक्ष केदार कटुवालले पछिल्लो समय बहुउद्देश्यीय संयुक्त सहकारी कृषि फर्मप्रति सबैको विश्वास बढ्दै गएकोको खुसी व्यक्त गरे । उनले आगामी दिनमा अझ राम्रोसँग कृषिफर्म सञ्चालनमा ल्याउन सुझाव दिँदै सो कार्यका लागि वडाको तर्फबाट आवश्यक सहयोग रहने गर्नेे पनि बताए ।

वडाध्यक्ष कटुवालले कतिपय सहकारीका गलत गतिविधिका कारण सहकारीप्रति नै आम मानिसका गुनासा आएका हुन् । त्यसलाई चिर्दै सहकारी संस्थाले आफ्नो उद्देश्यअनुरूप चल्नुपर्छ भन्ने मान्यता राखेर दृढतापूर्वक काम गर्न उनले सुझाव दिए ।

साधारणसभा समारोहमा नवोदय बहुउद्देश्यीय सहकारी संस्थाका वरिष्ठ उपाध्यक्ष तथा फर्मका संस्थापक अध्यक्ष बलराम गजुरेलले कृषिफर्म सञ्चालन गर्नुको उद्देश्य माथि प्रकाश पारेका थिए ।

कार्यक्रमको सञ्चालन फर्मका सचिव खगेन्द्रप्रसाद भण्डारीले गरेका थिए भने उपस्थित सहभागीलाई पूर्वनेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेम सापकोटाले शाब्दिक स्वागत गरेका थिए ।

सम्बन्धित खबर