२०८२ जेठ ६, सोमवार , ०५:१३:३७ बजे

Sajhamanch
'

दशनामी समाजको नगर समितिमध्ये बिर्तामोड उत्कृष्ट

बुधवार, माघ १०, २०८०

बिर्तामोड । नेपाल दशनामी समाज बिर्तामोड नगर समिति देशकै उत्कृष्ट भएको दशनामी समाजका अगुवाहरुले बताएका छन् ।

दशनामी बन्धुहरुलाई एकताबद्ध गर्ने उद्देश्यले नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले आयोजना गरेको वनभोज कार्यक्रममा उनीहरुले त्यस्तो बताएका हुन् ।

समाजका केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि गोबिन्दबिक्रम गिरीले देशका ७६ वटा जिल्लामा दशनामीका संगठन रहेको बताए । जिल्ला अन्तरगत रहेका समाजका संगठनमध्ये देशकै सवैभन्दा उत्कृष्ट कार्य गर्ने बिर्तामोड नगर समिति भएको गिरीले बताएका हुन् ।

समाजले नगर समिति, नगर सल्लाहकारसहित केन्द्र, प्रदेश र जिल्लाका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा बुधवार मेचीनगरको धाइजनस्थित कालीका सिमसार क्षेत्रमा पिकनिकको आयोजना गरेको थियो ।

समाजका बिर्तामोड नगर अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वनभोज कार्यक्रमका संयोजक बिदुर गिरीले गरेको र कार्यक्रमको सञ्चालन सह–संयोजक प्रजित पुरीले गरेका थिए ।

कार्यक्रमम समाजका केन्द्रीय संरक्षक भारतलाल गिरी, केन्द्रीय सल्लाहकार हर्कलाल गिरी, केन्द्रीय सह–कोषाध्यक्ष गोबिन्द गिरी, कोशी प्रदेश पूर्व अध्यक्ष चन्द्रप्रसाद गिरी, झापा पूर्व अध्यक्ष खिलबहादुर गिरी (राजु), बिर्तामोड नगर सल्लाहकार नरनाथ गिरी लगायतले बिर्तामोड नगर समितिले गरेको कार्यको प्रशंसासमेत गरेका थिए ।

कार्यक्रममा नृत्य तथा गीत प्रतियोगिता, क्यारिकेचर, म्युजिकल चियर, वक्तृत्वकला प्रतियोगिता गरिएको थियो । उक्त प्रतियोगितामा सहभागिता जनाउनेलाई पुरस्कारसमेत प्रदान गरिएको थियो ।

बासुरी धुनतर्फ नारायणप्रसाद गिरी, नृत्यतर्फ पद्मादेबी पुरी, भारतलाल गिरी र विश्वनाथ बनलाई पुरस्कार प्रदान गरिएको नगर अध्यक्ष अर्जुन गिरीले बताए । कार्यक्रममा नगर उपाध्यक्ष नारायणप्रसाद गिरीले बाँसुरी बजाएर सवैलाई मनोरन्जन गराएका थिए ।