२०८२ वैशाख २९, सोमवार , ०१:२३:२१ बजे

Sajhamanch
'

अर्जुनधाराको जलकन्या देवी मन्दिरमा माघ ११ देखि महायज्ञ हुँदै

मङ्गलवार, माघ ९, २०८०

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं. १० चुथाईमा अवस्थित जलकन्या देवी मन्दिरमा यही माघ ११ गतेदेखि श्रीमद् भागवत महापुराण तथा धन धान्याञ्चल ज्ञान महायज्ञ हुने भएको छ ।

मन्दिर परिसरमा आज आयोजित पत्रकार सम्मेलन मार्फत् जनाइए अनुसार मन्दिरको भौतिक विकास र धार्मिक पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले महायज्ञ गर्न लागिएको हो ।

महायज्ञ माघ ११ गतेदेखि १८ गतेसम्म गरिने भएको हो । मन्दिरलाई सबै धर्मको साझा आस्थाको केन्द्रविन्दुको रुपमा विकास गर्ने उद्देश्यले पाँचौं धार्मिक अनुष्ठानको रुपमा महायज्ञको आयोजना गर्न लागिएको पुराण आयोजक समितिका सचिव ओमप्रकाश भट्टराईले जानकारी दिए ।

मन्दिर व्यवस्थापनको लागि आवश्यक अक्षयकोषको स्थापना, मन्दिर परिसर घेराबारा तथा अन्य भौतिक पूर्वाधारहरु निर्माण, गौतम बुद्धको प्रतिमा स्थापना, जलाशय तथा दुर्लभ वृक्षहरुको संरक्षण गर्नु उक्त अनुष्ठानको अर्को उद्देश्य रहेको सचिव भट्टराईको भनाई थियो ।

बिर्तामोड निवासी धार्मिक व्यक्तित्व झुमादेवी बस्नेतले उद्घाटन गर्ने उक्त महायज्ञको प्रमुख वाचक पण्डित अर्जुन भट्टराई र उपवाचक पण्डित रोशन भट्टराई रहेका छन् ।

माघ १८ गतेसम्म सञ्चालन हुने महायज्ञमा दैनिक पूजाअर्चना, आरती, कथा प्रवचन, सन्ध्या आरती, भजनकीर्तन, महात्म्य कथा, झाँकी प्रदर्शन, दाता सम्मानलगायतका कार्यक्रम हुने कार्यक्रम बनाइएको छ ।

महायज्ञबाट अक्षयकोषको लागि ३० लाख रुपैयाँसहित अनुमानित ५० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको छ । महायज्ञ सम्पन्न गर्न करिव १० लाख रुपैयाँ खर्च हुने महायज्ञ मूल आयोजक समितिका सहसंयोजक कृष्णप्रसाद चापागाईंले जानकारी दिए ।

विगत २८ वर्षदेखि मन्दिरको स्तरोन्नतिमा खटिँदै आएका पूर्व अध्यक्ष बलबहादुर कटुवालले भौतिक विकासका लागि तीनै तहको सरकार समक्ष प्रस्ताव समेत पेश गरिसकिएको जानकारी दिए । एक बिघाभन्दा बढी जग्गा रहेको मन्दिरको विकास गर्न सके धार्मिक पर्यटनको गतिलो गन्तव्य हुने सो अवसरमा जनाइएको छ ।

परापूर्व कालदेखि स्थानीय आदिवासीहरुबाट देवीस्थानको रुपमा पूजाअर्चना हुँदै आएको उक्त मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यका साथ महायज्ञ गर्न लागिएको स्थानीय तथा सामाजिक व्यक्तित्व लवकुश गौतमको भनाई थियो ।

पत्रकार सम्मेलन र मन्दिरको जानकारी समेटिएको दुईवटा भिडियो पनि हेर्नुहोस् :

https://fb.watch/pLyN8ozYT1/

https://fb.watch/pLB18MqiIo/

 

 

सम्बन्धित खबर