२०८१ फागुन १४, बुधवार , १०:३२:०५ बजे

Sajhamanch
'

सोमपाल र विनोद चल्दा आर्मी विजयी, एपीएफको फाइनल सम्भावना कठिन

मङ्गलवार, माघ ९, २०८०

भैरहवा । तीव्र गतिका बलर सोमपाल कामी र कप्तान विनोद भण्डारीले राम्रो प्रदर्शन गर्दा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल एपीएफ क्लबलाई ४ विकेटले हराएको छ ।

लगातार तेस्रो हारले साविक विजेता एपीएफको शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना भने कठिन बनेको छ ।

जितको लागि १२२ रनको विजयी लक्ष्य आर्मीले २३.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । आर्मीको जितमा विनोद भण्डारी ४० बलमा ४ चौका र १ छक्कासहित ३४ रनमा नट आउट रहे ।

ब्याटिङ गर्न कठिन मानिने भैरहवाको सिद्धार्थ रंगशालामा विनोदले एक कप्तानी इनिङ खेलेका थिए । ओपनर इमरान शेख १६, सन्तोष कार्की ११, सन्दीप रजाली ६, भीम सार्की २, कुशल मल्ल १९ र बसिर अहमद १८ रनमा आउट भए ।

एपीएफका रमेश कुर्मीले २, श्याम ढकाल र रोहित पौडेलले १–१ विकेट लिए ।

त्यसअघि सिद्धार्थ रंगशाला भैरहवामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफ ३२।४ ओभरमा १२१ रनमा अल आउट भएको थियो ।

एपीएफका कप्तान रोहित पौडेलले १०३ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ५९ रन बनाए पनि जितका लागि पर्याप्त भएन । भुवन कार्की १६ र सुमित महर्जनले १४ रन बनाए । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

आर्मीका सोमपाल कामीले ६.४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । अभिनाश कर्ण २, विवेक यादव, साहब आलम र बसिर अहमदले १–१ विकेट लिए ।

आर्मीले मधेशलाई १२६ रनले हराउँदा वागमतीसँग ३ विकेटले स्तब्ध भएको थियो ।

कोशीलाई ९ विकेटले हराउँदा पुलिससँग १३ रनले पराजित भएको थियो । एपीएफले सुरुवाती दुई खेलमा बागमतीलाई ८९ रन र कोशीलाई ६ विकेटले हराएको थियो । मधेशसँग ५ विकेट र पुलिससँग ५८ रनले पराजित भएको थियो ।

आर्मी ५ खेलमा ३ मा जित र २ मा हारसहित ६ अंकका साथ चौथो स्थानमा छ । एपीएफ ५ खेलमा २ मा जित र ३ मा हारसहित सातौं स्थानमा छ ।

पुलिस ४ खेलमा ८ अंकका साथ शीर्षस्थानमा छ । बागमती ६ खेलमा ४ मा जित र २ मा हारका साथ ८ अंकका साथ दोस्रो स्थानमा छ । मधेश पनि ६ खेलमा ८ अंकका साथ तेस्रो स्थानमा छ । १० टीम सहभागी प्रतियोगिताको राउण्ड रोबिन लिगपछि शीर्ष दुई टोलीले फाइनल खेल्न पाउनेछन् ।