२०८१ माघ १२, शनिवार , ०६:४४:४९ बजे

Sajhamanch
'

बिर्तामोड जुत्ता चप्पल महोत्सव माघ १५ सम्म थपियो

मङ्गलवार, माघ ९, २०८०

बिर्तामोड । कोशी प्रदेशमै पहिलो पटक बिर्तामोडमा आयोजना गरिएको एक महिने जुत्ता चप्पल महोत्सवको अवधि माघ १५ गतेसम्म लम्ब्याइएको छ ।

गुणस्तरीयसँगै भारी छुटमा ग्राहकहरुले जुत्ता चप्पल पाउँदा माग बढेपछि आयोजकहरुले महोत्सवको अवधि थपेका हुन् । त्योसँगै सँधैका लागि त्यस किसिमको सेवा सुविधा दिन नेपाली जुत्ताघरको सोरुम बिर्तामोडको सिटी सेन्टरमा खोलिने भएको छ ।

माघ १५ गते महोत्सव सकिएकै दिन सिटीसेन्टरमा नेपाली जुत्ताघरको सोरुम खोलिने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य, फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालका अध्यक्ष तथा महोत्सवका संयोजक नानीराज घिमिरेले बताए ।

उनले नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्राण्डका जुत्ताहरु किन्न अब महोत्सव नै पर्खनु नपर्ने जानकारी दिए । सिटीसेन्टरमा खोलिने सोरुममा ८ वटै कम्पनीका जुत्ता चप्पलहरु महोत्सवकै सहुलियतमा उपलव्ध हुने पनि जानकारी गराए । पहिलो पटक बिर्तामोडमा आयोजना गरिएको जुत्ता चप्पल महोत्सवमा ग्राहकहरुको सहभागिता उत्साहजनक रहेको उनको भनाइ थियो ।

‘स्वदेशी उत्पादन प्रवर्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ यही पुष ९ गतेदेखि कोशी प्रदेशस्तरीय ‘प्रथम बिर्तामोड जुत्ता चप्पल व्यापार महोत्सव शुरु भएको हो । बिर्तामोड सिटी सेन्टर इन्भेष्टमेन्ट प्रालिको आयोजना तथा नेपाली जुत्ता उद्योगी समूहसँगको सहकार्यमा महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा नेपालका ८ वटा कम्पनीले उत्पादन गरेका १५ भन्दा बढी ब्राण्डका जुत्ता चप्पल राखिएको छ । महोत्सवमा ३ हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ता चप्पलहरु उपलब्ध छन् ।