२०८१ पौष ११, बिहिवार , ०४:५२:५९ बजे

Sajhamanch
'

सीमा विवाहित भन्ने थाहा पाएपछि मोहनले गरेका थिए हत्या

मङ्गलवार, माघ ९, २०८०

दाङ । सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ का २३ वर्षीय मोहन पुनले झन्डै दुई महिनादेखि आफूसँगै बस्दै आएकी २८ वर्षीया सीमा कवरलाई विवाहित भएको थाहा पाएपछि हत्या गरेको खुलेको छ।

विवाहित हुँदाहुँदै आफूसँग सम्बन्ध राखेको भन्ने थाहा पाएपछि उनले कुटीकुटी हत्या गरेको खुलेको प्रहरीले जानकारी दिएको छ। झारफुक गराउन जान्छु भन्दै घरबाट निस्किएकी सीमा गत मंसिर १० गते यता मोहनसँग गुपचुप बस्दै आएकी थिइन्।

उनको मोहनकै घरमा हत्या भएको थियो। घटनाको अनुसन्धान गरिरहेका इलाका प्रहरी कार्यालय लुहामका प्रमुख प्रहरी निरीक्षक रमेश पौडेलका अनुसार उनका श्रीमान् कामको सिलसिलामा पोखरामा छन्।

उनले श्रीमानलाई झारफुक गर्न जाने बताएकी थिइन्। निःसन्तान भएकाले केही उपाय लाग्छ कि भनेर श्रीमानले पनि पत्याएका थिए।

सीमाको घर शारदा नगरपालिका वडा नम्बर १२ मा पर्ने प्रहरीले जानकारी दिएको छ।

‘श्रीमानसँग पैसा मागेर झारफुक गराउन माइती जान्छु र झारफुक गराइ ठीक भएपछि मात्रै घर फर्किन्छु भनेर सल्लाहमा गएको खुलेको छ। उनी गुपचुप मोहनसँग बस्दै आएकी रहिछन्,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने।

सीमाको माइती गाउँ त्रिवेणी गाउँपालिका वडा नम्बर ४ मा पर्छ।

‘उनीहरू निसन्तान रहेको बुझिएको छ। सन्तान नभएकाले झारफुक तथा उपचार गर्न माइत जान्छु भनेर घरबाट निस्किएकी सीमा मोहनसँग बस्ने रहिछन्। उनीहरूबीच अनैतिक सम्बन्ध रहेको खुलेको छ,’ प्रहरी निरीक्षक पौडेलले भने, ‘मोहनलाई सीमा अर्कैकी श्रीमती हुन् भन्ने थाहा रहेनछ। त्यही खुलेपछि हत्या भएको देखिन आउँछ, यसबारे विस्तृत अनुसन्धान जारी छ।’

एक्लै रहेका बेला सीमाले पोखरामा रहेका श्रीमानलाई फोन गरेर आफू माइतीमा झारफुक र उपचार गराइरहेको बताउने गरेको प्रहरीको भनाइ छ।

गत माघ ७ गते त्यसैगरी सीमाले फोन गरिरहँदा मोहनले उनी विवाहित रहेको थाहा पाए। मोहनले सोधीखोजी गर्ने क्रममा सीमाको श्रीमान् रहेको पत्ता लागेको अनुसन्धानबाट खुलेको छ। आवेशमा आएका मोहनले कुटीकुटी सीमाको हत्या गरेको प्रहरी बताउँछ।

‘माघ ७ गते बिहान १० बजेतिर पोखरामा रहेका सीमाका श्रीमानले उनलाई मोबाइलमा फोन गर्छन्। त्यतिबेला मोहन आफैंले फोन उठाउँछन्। त्यतिबेला सीमा विवाहित रहेको खुलेको हो,’ पौडेलले भने।

माघ ७ गते मोहन र सीमाका श्रीमानबीच फोनमै विवाद भएको र आवेशमा आएर सीमाको हत्या गरेको अनुसन्धानबाट देखिएको उनले बताए।

मोहन र सीमा मात्रै घरमा बस्दै आएका थिए। मोहनका बुवा(आमा चार किलोमिटर जति टाढा बस्दै आएको पनि उनले बताए। ‘रिसले आगो भएका मोहनले मलाई किन ढाँटिस् भन्दै सुरूमा हातमा प्रहार गरेको देखिन्छ। त्यसपछि उनले घुँडामुनि प्रहार गरेका रहेछन्। अन्तिममा टाउकामा प्रहार गरेर हत्या गरेको खुल्न आउँछ,’ पौडेलले भने।

सीमालाई अचेत बनाएपछि पनि उनले कुटपिट गरेको बयान दिएका छन्। ‘सीमा चल्न चटपटाउन छाडेपछि मोहनले मदिरा सेवन गरेर आएको र त्यसपछि घरभित्र लगेर पनि कुटपिट गरेको देखिन्छ,’ पौडेलले बताए।

त्यसरी लगातारको कुटपिटबाट बेलुकी ५ बजेतिर सीमाको मृत्यु भएको बयान मोहनले प्रहरी समक्ष दिएको लुहामका प्रहरी निरीक्षक रेशम पौडेलले बताए। सीमाको हत्या गरिसकेपछि मोहनले गाउँमा पैसा सापटी मागेर भाग्ने तयारी गरेका थिए।

सीमाको मृत्यु भइसकेको यकिन भइसकेपछि मोहन गाउँमा थप मदिरा सेवन गर्न गएको र फर्किएर घरको तल्लो कोठामै सुतेको प्रहरी निरीक्षक पौडेलले बताए। घरमा ताला लागेको र सुनसान देखेपछि स्थानीयले वडाध्यक्षलाई खबर गरेका थिए।

वडाध्यक्षले प्रहरीलाई खबर गरेकोर घरको ताल्चा फुटाएर हेर्दा सीमालाई मृत अवस्थामा भेटिएकी थिइन्। हत्यापछि फरार रहेका मोहन घर नजिकैको जंगलमा लुकिरहेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार सीमाले पहिले पनि अन्यत्र बिहे गरेको खुलेको छ। त्यो घरजम बिग्रिएपछि उनले अहिलेका श्रीमानसँग विवाह गरेकी थिइन्। मोहनको पनि विगतमा अन्य महिलासँग सम्बन्ध रहेको खुलेको प्रहरीको दाबी छ। घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरी अधिकारीहरू बताउँछन्।

सम्बन्धित खबर