२०८१ माघ ५, शनिवार , ०६:५७:०० बजे

Sajhamanch
'

सचिन परियारको उपचारका लागि संकलित रकम हिनामिना

मङ्गलवार, माघ ९, २०८०

काठमाडौं । बालगायक सचिन परियार यतिबेला थलिएका छन् । कम्मरमुनिको उनको भाग राम्रोसँग चल्दैन । यसअघि शल्यक्रिया गरेर तंग्रिएका सचिन यतिबेला आफ्नै बलमा उभिन सक्दैनन् ।

टेलिभिजन कार्यक्रम इन्द्रेणीमा पुगेका सचिन राम्रोसँग बोल्न सक्ने अवस्थामा थिएनन् । उक्त कार्यक्रममा छोरासहित पुगेका उनका बुबा तेजेन्द्र परियारले सचिनलाई नसामा समस्या भएको बताए । थेरापी गर्दा अझै अवस्था बिग्रिएको उनको भनाइ छ ।तेजेन्द्रले छोरालाई यसैसाता हेटौंडाको आयुर्वेद अस्पतालमा लगेका थिए । त्यहाँबाट फर्किएपछि पनि सचिनको स्वास्थ्यमा सुधार छैन ।

सचिनको उपचारमा सहयोग गर्न सामाजिक सञ्जालबाट आव्हान भइरहेको छ । यस्तोमा सचिनलाई उपचारका लागि आफूहरुले दिएको मोटो रकम उनका बुवा तेजेन्द्रले दुरुपयोग गरेको आरोप लागेको छ । सामाजिक सञ्जालमा पोस्ट गर्दै युट्युबर भोजराज थापाले सहयोग दुरुपयोग भएको आरोप लगाएका हुन् ।थापाको पोस्टअनुसार सचिनको उपचारका लागि युट्युबको सक्रियतामा ११ लाख रुपैयाँ संकलन भएको थियो । जसमध्ये तीन लाख खर्च भएको र बाँकी बचत रहेको हिसाब उनले पेश गरेका छन् । यतिबेला उक्त रकम दुरुपयोगको आरोप लागेको हो ।

तर तेजेन्द्रले चाहिं उक्त रकम सबै उपचारमा खर्चिएको बताइरहेका छन् । उनले आफूविरुद्ध दुरुपयोगको आरोप लागेको भन्दै सोही पैसाले सचिनलाई बचाएर राखेको बताए । तेजेन्द्रले भने युट्युबरले नै पैसा हिनामिना गरेको हुनसक्ने आशंका गरेका छन् ।