काठमाडौं । भारतको अयोध्यामा भव्य राम मन्दिर निर्माण गरिएको छ । राम मन्दिरको प्राणप्रतिष्ठा सोमबार भव्य कार्यक्रमबीच भइरहेको छ । धार्मिक र राजनीतिक दुवै हिसाबले पछिल्ला राम मन्दिरले चर्चा बटुलेको छ ।
भारतभित्र विपक्षी दलहरूले राम मन्दिरलाई भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को ‘राजनीतिक परियोजना’ भनि आलोचना गरेका छन् । विपक्षी दलहरूले प्राणप्रतिष्ठा कार्यक्रममा सहभागी नहुने निर्णय समेत गरे ।
त्यति मात्र होइन, विपक्षी दलहरूले यसै वर्ष भारतमा हुने आम निर्वाचनलाई लक्षित गरी भाजपाले राम मन्दिरको निर्माण पूरा नहुँदै प्राणप्रतिष्ठा गरेर मतदाता आकर्षित गर्ने काम गरेको आरोप लगाएका छन् । विपक्षीले आरोप लगाए पनि भाजपाले भने राम मन्दिरको प्राणप्रतिष्ठालाई शुद्ध धार्मिक कार्यक्रम बताउँदै आएको छ ।
भारतभित्र राम मन्दिर र प्राणप्रतिष्ठालाई लिएर विवाद भए पनि मन्दिर ठूलो लगानीमा निकै आकर्षक बनेको सबैले स्वीकारेका छन् । मन्दिर निर्माण गर्न १८ सय करोड भारतीय रुपैयाँ खर्च भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
अयोध्याको भव्य राम मन्दिर केवल पूजा गर्ने ठाउँ होइन, यसले प्राचीन आस्था र आधुनिक विज्ञानलाई पनि जोडेको छ । राम मन्दिर आधुनिक इन्जिनियरिङको एउटा नमुना बनेको छ । यसलाई शक्तिशाली भूकम्प र ठूलो बाढीले क्षति गर्न नसक्ने गरी निर्माण गरिएको छ ।
जुन प्रविधि अपनाएर अयोध्यामा राम मन्दिर निर्माण भएको छ, त्यसको आधारमा एक हजार वर्षसम्म यो केही नहुने बताइएको छ ।
राम मन्दिर टाटा कन्सल्टिङ इन्जिनियर्स लिमिटेडको व्यवस्थापनमा लार्सन एण्ड टुब्रो कम्पनीले निर्माण गरिरहेको छ । यो सावधानीपूर्वक गरिएको योजना र आधुनिक निर्माण प्रविधिको सम्मिश्रण हो ।
राम मन्दिरको डिजाइन ३६० वटा स्तम्भ भएको परम्परागत नगर वास्तुकला शैलीबाट प्रभावित छ । मन्दिर पूर्णतया ढुंगाले बनेको छ, जसमा आधुनिक फलाम, स्टिल र सिमेन्ट प्रयोग गरिएको छैन । मन्दिरलाई भूकम्पबाट सुरक्षित राख्न यो निर्णय गरिएको हो ।
अन्य सामग्रीको तुलनामा, ढुंगाको आयु लामो र टिकाउ हुन्छ । यहीकारण सयौँ वर्ष पुराना मन्दिरहरू अझै सुरक्षित रहेको विश्वास गरिन्छ । साथै राम मन्दिर निर्माणमा ढुंगालाई विशेष स्थान दिइएको छ ।
राम मन्दिर निर्माण गर्दा यसको जगमा वैज्ञानिकहरूले विशेष ध्यान दिएका छन् । मन्दिर ‘रोल्ड कम्प्याक्टेड कंक्रीट’को १५ मिटर बाक्लो तहमा बनाइएको छ, जसमा फ्लाई यस, धुलो र रसायनबाट बनाइएको ‘कम्प्याक्टेड कंक्रीट’को ५६ तहहरू समावेश छन् । मन्दिरको बलियो ‘बेस’लाई २१ फिट बाक्लो ‘ग्रेनाइट’ले थप बलियो बनाइएको छ, जसले मन्दिरलाई आर्द्रताबाट जोगाउन मद्दत गर्नेछ ।
राम मन्दिरको आधार स्तम्भहरूलाई नदीहरूमा बनेका ठूला पुलहरूसँग तुलना गरिएको छ । जसका कारण भूकम्पीय जोखिम कम हुने विश्वास लिइएको छ ।
मन्दिर निर्माण टोलीले अयोध्यादेखि नेपालसम्म फैलिएको क्षेत्रमा हालसम्म आएका भूकम्पको तीव्रताको अध्ययन गरेको थियो । त्यसपछि, राम मन्दिरको लागि एक अद्वितीय डिजाइन प्रयोगशालामा बनाइएको थियो । इण्डिया टुडेको रिपोर्टअनुसार राम मन्दिरले ६.५ म्याग्निच्युडको भूकम्प थेग्न सक्नेछ ।
राम मन्दिरको डिजाइन गर्दा चेन्नईको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट केही महत्त्वपूर्ण सुझावहरू समेत प्राप्त भएका थिए । त्यसैको आधारमा इन्जिनियरहरूले १५ मिटरसम्म जमिन खन्ने र माथिको माटो निकाल्न काम गरेका थिए । माटो झिकेको ठाउँमा ‘रि इन्जिनियर्ड’ गरिएको माटो भरिएको थियो । यो माटो १४ दिनभित्र ढुंगामा परिणत भएको थियो । यसरी राम मन्दिरको निर्माण गरिएको थियो ।