२०८२ जेठ ६, सोमवार , ०२:२५:०६ बजे

Sajhamanch
'

‘लोकतन्त्रमा फरक मतको पनि कदर हुनुपर्ने’ : डा. उप्रेती

आइतवार, माघ ७, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा आज आयोजित एक कार्यक्रमका सहभागीहरुले भुँई मान्छेले लोकतन्त्रको अनुभूति गर्न नपाएको बताएका छन् ।

नारी सञ्चार गृह झापाको आयोजनामा आइतबार बिर्तामोडमा सम्पन्न नागरिक आन्दोलन र लैङ्गिकता विषयक अन्तरक्रियामा सहभागीहरुले यस्तो कुरा आएको हो । वक्ताहरुले आ–आफ्नो धारणा राख्ने क्रममा परिवर्तनका लागि भएका आन्दोलनले सफलता पाए पनि आन्दोलनबाट प्राप्त उपलब्धीले साधारण नागरिकलाई छुन नसकेको बताए ।

नागरिक आन्दोलनका अगुवा डा. सञ्जीव उप्रेती र अर्चना थापा मुख्य वक्ता रहेको कार्यक्रममा संघीयताको मर्म अनुसारको काम हुन नसकेको बताउँदै डा. उप्रेतीले अहिले पनि न्याय माग्नका लागि काठमाडौं नै धाउनुपर्ने, धर्ना, अनसन नै बस्नुपर्ने अवस्था आउनु दुःखद भएको बताए ।

लोकतन्त्र नाटक जस्तो देखिएको बताएका उनले भने ‘संघीयता, समावेशी लगायतका विषयवस्तु राम्रा भए पनि परिकल्पना अनुसार कार्यान्वयन नहुँदा लोकतन्त्र नाटक जस्तै भयो ।’

लोकतन्त्र र संघीयताको मर्म अनुसार भुँई मान्छेको आवाज सुनिन छोडेको बताउँदै नागरिकले न्याय पाउनका लागि वकिललाई न्यायालयमा सेटिङ छ कि छैन भन्ने सोधेर मात्रै मुद्दा दिने दिन आएको उनको भनाई थियो ।

लोकतन्त्रमा फरक मतको पनि कदर हुनुपर्नेमा जोड दिएका उप्रेतीले नागरिक आन्दोलन विचार परिवर्तन गर्ने प्रयास भएको पनि स्पष्ट पारे । सामाजिक संरचनाजस्तै नागरिक आन्दोलन पनि रहेको स्पष्ट पार्दै संरचनागत लाभांश लिएर जीवनलाई सहज बनाउने गलत मिथकलाई तोड्नुपर्नेमा उप्रेतीको जोड थियो ।

राम्रो गाडी चढ्ने, डिग्री होल्डर र लवाई खुवाई राम्रो हुँदैमा परिवर्तन आउन नसक्ने बताउँदै अर्का वक्ता अर्चना थापाले समाज रुपान्तरणका लागि सोचमै परिवर्तन आउनुपर्ने बताइन् ।

अझै पनि लैङ्गिक असमानता कायम रहेको बताउँदै थापाले सबैभन्दा घर परिवारको घेरा तोड्न कठिन रहेको बताइन् । साहित्य सिर्जनामा सक्रिय थापाले एउटा कोठाभित्र बसेर गरिने काल्पनिक साहित्यको कथाभन्दा साहित्यको काल्पनिक पानाबाट बाहिर निस्केर सडकको वास्तविक कथा बुझ्न सडकमै आएको बताइन् ।

कार्यक्रममा सहभागीहरुले नागरिक आन्दोलन र लैङ्गिकताका विषयमा राखेका जिज्ञासाको डा. उप्रेती र थापाले जवाफ दिएका थिए ।

नारी सञ्चार गृह झापाका अध्यक्ष रेजिना गौतमको अध्यक्षता तथा सचिव मायामितु न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खबर