२०८२ जेठ ६, सोमवार , १२:५७:३८ बजे

Sajhamanch
'

झापामा दैनिकजसो हात्तीको उपद्रो, १२ वर्षमा ५८ जना मानिस र डेढ वर्षमा ६ वटा हात्तीको मृत्यु

शनिवार, माघ ६, २०८०

झापा । जिल्लाको दक्षिणी भूगोल कचनकवलमा दैनिकजसो हात्तीको उपद्रो बढ्दै गएपछि स्थानीयबासी त्रासमय बनेका छन् । कचनकवल गाउँपालिका वडा नं. १, ३ र ७ मा दैनिकजसो हात्तीको हुल आएर अन्नबाली खाइदिने, घर गोठमा क्षति गर्ने क्रम तीब्र गतिमा बढ्दै गएपछि स्थानीयमा त्रास बढेको हो ।

गएराति कचनकवल ३ डाँगीबारीमा हात्तीको एक हुल प्रवेश गरी ४ वटा घरमा क्षति पुर्याएको छ । मध्यरातमा ३ वटा जंगली हात्तीले कचनकवल ३ डाँगीबारी गाउँका धर्मप्रसाद पोखरेल, आमवती माझी, ताला मुर्मु र कृष्णप्रसाद निरौलाको घर भत्काएका हुन् । ती घरमा भण्डारण गरेर राखेको धान चामल हात्तीले खाइदिएको र नष्ट पनि गरेको गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिएका छन् ।

पछिल्लो समय घरमा सुतिरहेको अवस्थामा, बिहानको हिँडाइका क्रममा र जङ्गलमा घाँस दाउरा काट्ने क्रममा हात्ती आक्रमणबाट ज्यान गुमाउने क्रम पनि बढेको छ । जिल्लामा चार दशकदेखि मानव र हात्तीबीचको द्वन्द्व निरन्तर छ । चार दशकदेखि गुज्रिरहेको जङ्गली हात्ती र मानवबीच द्वन्द्वको कहिल्यै नसिद्धिने सिलसिलाबाट अहिले पनि झापा, मोरङ र सुनसरी आक्रान्त छन् । यो अवधिमा कति मानिसको ज्यान गयो भन्ने पूर्ण तथ्याङ्क भने उपलब्ध छैन ।

डिभिजन वन कार्यालय झापाका अधिकृत ऋषि पराजुलीका अनुसार वि. सं. २०८० को वैशाखदेखि हालसम्म एक गैर नेपालीसहित छ जनाको हात्ती आक्रमणमा ज्यान गएको छ भने छ जना घाइते भए । यसैगरी, वि. सं. २०७९ मा सात जनाको मृत्यु र आठजना घाइते भएको उनले जानकारी दिए ।

पछिल्लो डेढ वर्षको अवधिमा छवटा हात्ती पनि मरेको तथ्याङ्क वन कार्यालयमा रहेको छ । गत वर्ष तीन र चालू आर्थिक वर्षमा तीनवटा गरी ६ वटा हात्ती मरेका हुन् । डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार २०६८ देखि २०८० पुस २० सम्ममा झापामा ५८ जनाको मृत्यु भइसकेको छ । त्यसमा सात गैरनेपाली पनि छन् । एक दशकमा ७५ जना हात्तीको आक्रमणमा घाइते भएको वन कार्यालयले जनाएको छ ।

मेचीपारि भारतमा महानन्द वन्यजन्तु निकुञ्ज छ । पश्चिम बङ्गालको वन्यजन्तु संरक्षण गरिने उक्त जङ्गलमा आसामदेखि आउने हात्तीले बासस्थान बनाउने गरेका छन् । त्यहाँ दिनभर आराम गर्ने हात्तीको बथान साँझ परेपछि आहारको खोजीमा सीमा तरेर बाहुनडाँगी हुँदै नेपाल प्रवेश गर्ने गरेका छन् ।

खेतबारीमा लगाएका अन्न र फलफूल खाएर विनाश गर्ने हात्तीले मानिसलाई पछिल्लो समयमा अधिक आक्रमणको निशाना बनाउँदा अकालमा धेरैले ज्यान गुमाउनु परेको हात्ती संरक्षण अभियानकर्मी शङ्कर लुइँटेल बताउँछन् । सीमामै हात्ती छेक्न गरिएको अन्तिम उपाय विद्युतीय तारबारले काम गर्न छाडेपछि पछिल्लो समय हुल बाँधेर हात्ती नेपाल प्रवेश गर्न थालेका हुन् ।

एक दशकयता नेपालकै जङ्गलमा बस्दै आएका रैथाने हात्तीले मानिसको ज्यान लिने गरेको बुद्धशान्ति गाउँपालिका वडा नं ३ का सीताराम बाँस्तोलाले बताए । एक्लै र हुलमा हिँड्ने रैथाने हात्ती मानव बस्तीको भित्री भागसम्म पुग्ने गरेका छन् । सरकारले वन्यजन्तुबाट मानवीय तथा भौतिक क्षति भएमा राहत तथा क्षतिपूर्ति रकम दिने कानुनी व्यवस्था गरेको छ । तर अधिकांश पीडितले बेलैमा सो रकम नपाएको गुनासो छ ।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०७५ मा हात्तीको आक्रमणमा मृत्यु भएको परिवारले १० लाख रूपैयाँ राहत दिने व्यवस्था छ । सख्त घाइतेको उपचार खर्च रकम सरकारले सम्पूर्ण व्यहोर्ने र सामान्य घाइतेलाई उपचार खर्चबापत २० हजार रुपैयाँसम्म दिने कानुनी व्यवस्था छ । घरगोठ भत्काएको, भण्डारण गरेको अन्नबाली खाएमा र खाद्यबालीमा क्षति पुर्याएको अवस्थामा १० हजार रुपैयाँसम्म क्षतिपूर्ति दिने सरकारी व्यवस्था रहेको डिभिजन वन कार्यालयका अधिकृत पराजुलीले बताए ।

सम्बन्धित खबर