
झापा । नेकपा एमाले झापा जिल्ला कमिटीका उपाध्यक्ष प्रेमबहादुर गिरीले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् । माघ ३ गते जिल्ला पार्टी कार्यालयमा अध्यक्ष दिपक कार्कीले गिरीलाई लिखित पत्र प्रदान गरी जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।
दुई वर्ष पहिले २०७८ पुषमा सम्पन्न १०औं जिल्ला अधिवेशनबाट गिरी उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका थिए । उनले संविधान सभाको सदस्य तथा तत्कालीन खुदुनाबारी गाविसको अध्यक्ष रही जनप्रतिनिधिको जिम्मेवारी पूरा गरिसेकेका छन् ।
१०औं झापा जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका दिपक कार्कीलाई केन्द्रीय कमिटीको सचिवालय बैठकले केन्द्रीय सदस्यमा मनोनयन गरी माघ २ गते पद तथा गोपनियताको सपथ गराएपछि विधानतः रिक्त हुन गएको जिल्ला अध्यक्ष पदमा गिरीलाई कार्यबाहकको जिम्मेवारी प्रदान गरिएको सचिव शिव ढुंगेलले जानकारी दिए ।
अब गिरी नेतृत्वको जिल्ला कमिटीले चैत २०८० सम्ममा ११औं जिल्ला अधिवेशन गराउनेछ ।