२०८१ कार्तिक २, शुक्रवार , ०५:१२:४८ बजे

Sajhamanch
'

श्रीमतीको हत्या गरी भारत, २१ वर्षपछि फर्कँदा सीमाबाटै पक्राउ

मङ्गलवार, माघ २, २०८०

काठमाडौँ । श्रीमतीको हत्या गरी भारत भागेको आरोप लागेका व्यक्ति २१ वर्षपछि नेपाल फर्कँदा सीमाबाटै पक्राउ परेका छन्।

धादिङको साविक मैदी गाविस–९ हाल ज्वालामुखी गाउँपालिका–१ का ७० वर्षीय सूर्यबहादुर दवाडी रुपन्देहीको बेलहिया नाकाबाट पक्राउ परेका हुन्।

दवाडी नेपाल फर्कँदै गरेको विशेष सूचनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली सोमबार बेलहिया पुगेर पक्राउ गरेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए।

दवाडीमाथि २१ वर्षअघि आफ्नै श्रीमतीको हत्या गरेको आरोप रहेको प्रहरीले जनाएको छ। दवाडीले २०५९ साल फागुन २८ गते अंश सम्बन्धी विषयमा झगडा हुँदा श्रीमती सानुमाया दवाडीलाई कुटपिट गरी नाम्लोले घाँटी कसेर हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार त्यसपछि सानुमायाको शव रुखमा झुण्ड्याएर आत्महत्या गरेको भन्ने तथ्य स्थापित खोजेका थिए। रुखबाट शव निकालेर उनले अन्तिम संस्कार नै गरिसकेको अवस्थामा प्रहरीकहाँ जाहेरी परेको थियो।

सो घटनाको प्रहरी अनुसन्धानपछि २०६१ जेठ ५ गते धादिङ जिल्ला अदालतको फैसलाले दवाडीलाई सर्वस्वसहित जन्मकैद सुनाएको थियो। उक्त फैसला तत्कालीन पुनरावेदन अदालत पाटनले उल्टाए पनि सर्वोच्च अदालतको २०६७ माघ ३ को फैसलाले जिल्ला अदालतको फैसलालाई सदर गरेको प्रहरीले जनाएको छ।

घटनापछि अभियुक्त दवाडी भारतका विभिन्न सहरमा लुकीछिपी बस्दै आएका थिए। ‘अहिले उनी नेपाल प्रवेश गर्दैछन् भन्ने विशेष सूचना प्राप्त भएपछि ब्युरोको टोलीले पक्राउ गरेर फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएका छौं,’ एसपी अधिकारीले भने।

जिल्ला अदालत काठमाडौंले कैद भुक्तानका लागि दवाडीलाई केन्द्रीय कारागार जगनाथदेवल पठाएको छ।

सम्बन्धित खबर