
पोखरा । पोखरामा आजदेखि सुरु भएको चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ डिफेन्डिङ च्याम्पियन विभागीय टिम एपीएफ क्लबले विजयी सुरुआत गरेको छ ।
टाइगर ग्रुप अप पोखराको आयोजनामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा एपीएफले अर्को विभागीय टिम नेपाल पुलिसलाई ३–२ सेटमा पराजित गरेको हो ।
चौथो संस्करणको पहिलो प्रतिस्पर्धात्मक खेलमा पुलिसविरुद्ध एपीएफ क्लबले जित निकाल्दै २ अंक हासिल गरेको छ भने नेपाल पुलिसले १ अंक प्राप्त गरेको छ ।
पहिलो सेट २५–१८ र दोस्रो सेट २५–१८ ले जितेको एपीएफले भने तेस्रो र चौथो सेट भने गुमाउन पुग्यो ।
तेस्रो र चौथो सेटमा टिमको लय गुमाउन पुगेको एपीएफलाई २५–१९ र २५–१८ ले जितेर खेलमा फर्किएको नेपाल पुलिस अन्तिम तथा पाँचौ सेटमा १५–१३ ले एपीएफलाई सुम्पिन पुग्यो ।
खेलमा एपीएफ क्लबकी सरस्वती चौधरी टाइगर अफ दि म्याच घोषित भइन् ।
भारतीय टिम पोखरामा
चौथो टाइगर कपमा पहिलो पटक सहभागिता जनाउन भारत हरियाणा राज्यको महिला पुलिस क्लब पोखरा आइपुगेको छ ।
महिलातर्फ नै चन्द्रागिरि नगरपालिका, न्यू डायमण्ड स्पोर्टस क्लव, गण्डकी प्रदेशसँगै ३ विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल आर्मीको त्रिभुवन क्लब र शसस्त्र प्रहरीको एपीएफ क्लब सहभागी छन् ।
पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले पहिलो पटक सहभागिता जनाएको छ । प्रतियोगितामा हेल्प नेपाल स्पोर्टस क्लब ३ जना पाकिस्तानी खेलाडीसहित मैदानमा उत्रिँदैछ ।
पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ, ३ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र शसस्त्र प्रहरीको एपीएफ क्लब भिड्दैछन् ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता समान ५ लाख ५५ हजार ५५५ र उपविजेताले २ लाख ५५ हजार ५५५ रुपैयाँ हात पार्नेछन् ।
सोमबार महिलातर्फको दोश्रो खेल त्रिभुवन आर्मी क्लब र चन्द्रागिरी नगरपालिका न्यू डायमण्डबीच हुँदैछ । पुरुषतर्फको पहिलो खेल २ विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ भने लगत्तै उद्घाटन खेल हुनेछ । उद्घाटन खेलमा आयोजक गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब भिड्दैछन् ।