
काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटअघिको अभ्यास खेलमा नेपाली युवा टिमले स्कटल्यान्डविरुद्ध १३५ रनको सहज जित निकालेको छ ।
दक्षिण अफ्रिकामा भएको खेलमा नेपालले २८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा स्कटल्यान्डले ४३.२ ओभरमा सबै विकेट गुमाएर १४९ रन मात्र जोड्न सक्यो । स्कटल्यान्डका उजैर अहमदले २८ र एफ खानले २४ रन बनाए ।
स्कटल्यान्डलाई सस्तैमा समेट्न नेपालका तिलक भण्डारीले तीन र आकाश चन्दले दुई विकेट लिए ।
त्यसअघि, पहिले ब्याटिङ गरेको नेपाली टिमले ४९।२ ओभरमा सबै विकेट गुमाएर २८४ रन बनाएको थियो । नेपालका गुल्सन झाले ११४ रनको शतकीय इनिङ्स खेले । दीपक बोहराले ५८ रन बनाए ।
स्कटल्यान्डका एम जोनस र आई फैसलले समान दुई विकेट लिए ।
यही जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । यो समूहमा नेपालसँगै अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड छन् ।
नेपालले जनवरी २१ मा न्युजिल्यान्डविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ । नेपालले समूह चरणको दोस्रो खेलमा जनवरी २४ मा पाकिस्तान र जनवरी २७ मा अफगानिस्तानविरुद्ध अन्तिम खेल खेल्नेछ ।