२०८१ माघ ५, शनिवार , १०:४४:५६ बजे

Sajhamanch
'

अस्पतालबाट छुट पाएपछि घर फर्किए दुर्गाप्रसाद

शनिवार, पौष २१, २०८०

इलाम । उपचार गरेको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना घर फर्किएका छन् ।

बिना सुनुवाइ भारतीय जेलमा चार दशक बिताएपछि २०७७ सालमा घर फर्काइएका उनलाई गत वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ साइक्याट्रीमा उपचारका लागि भर्ना गराएको थियो । ६ महिनाअघि नै उनको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताए पनि अस्पतालको बिल तिर्न नसक्दा बन्धकझैँ भएर अस्पतालमै बस्नु परेको थियो ।

परिवारको कमजोर आर्थिक अवस्था बुझेर चितवनको ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ साइक्याट्रिनले उपचारमा भएको खर्च नलिई घर पठाएको छ । दुर्गाप्रसाद एक वर्ष नौ महिना सात दिन सो अस्पतालमा रहेको अस्पतालले जनाएको छ । उनी निको भएको छ महिना भइसके पनि अस्पतालमा तिर्नुपर्ने करिब चार लाख १५ हजार नहुँदा घर जान पाएका थिएनन् ।

विभिन्न सञ्चारमाध्यममा उपचार खर्च अभावले अस्पतालमै बस्न बाध्य दुर्गाप्रसाद शीर्षकमा समाचार आएपछि अस्पतालले उनले बुझाउन बाँकी रकम नलिई घर पठाएको अस्पतालका अध्यक्ष डा। गिरिराज भन्तानाले बताए ।

दुर्गाप्रसादलाई २०७७ चैतमा भारतको कोलकाता जेलबाट छुटाएर घर ल्याइएको थियो । दुर्गाप्रसाद २०३७ साल माघमा बेपत्ता भएका थिए । घर छाडेकै वर्ष भारत दार्जिलिङमा एक महिलाको हत्या आरोपमा जेल परेका उनी २०७७ फागुनमा भारतकै कोलकातास्थित दमदम कारागारमा फेला परेका थिए । विभिन्न संघ–संस्थाको पहलमा उनलाई २०७७ चैत ८ मा आफ्नी वृद्धा आमासहितको परिवार रहेको लुम्बाकस्थित घर ल्याइएको थियो ।

सम्बन्धित खबर