
भद्रपुर । भद्रपुर नगरपालिकाले व्यवसायिक कृषिमा जीवन समर्पण गरेका अगुवा कृषक पहिचान गरी किसान परिचय पत्र वितरण सुरू गरेको छ ।
नगर सरकारले व्यवसायिक कृषिको वातावरण सुरक्षित राख्न कृषिमा सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत किसान परिचयपत्र वितरण अभियान थालेको हो ।
संघीय सरकारबाट प्राप्त सशर्त अनुदान अन्तरगत प्रतिवर्ष प्राप्त दुई लाख रुपैयाँमा नगर सरकारले १० लाख थप गरी वडा नम्वर १ र २ मा किसान परिचय पत्र वितरण गरिसकेको छ । अहिले वडा नम्वर ३ र ४ मा किसानहरूको पहिचानको काम भइरहेको जनाइएको छ ।
नगर कृषि शाखाका निमित्त प्रमुख सुमन बिमलीका अनुसार नगर कार्यपालिकाले तय गरेको मापदण्ड अनुसार भद्रपुर नगर क्षेत्रमा व्यावसायिक कृषि कर्म गरिरहेका किसानहरूको स्थलगत अनुगमन पश्चात पहिचान गरेर किसान परिचयपत्र वितरण गरिने गरिएको हो ।
पछिल्लो चरणमा वडा नम्वर ३ र ४ का किसानहरूको विवरण लिएर परिचयपत्र प्रमाणिकरण प्रकृयाका लागि वेबसाइटमा नाम सार्वजनिक गरिएको निमित्त प्रमुख बिमलीको भनाई छ ।
यसका लागि नेपाल सरकारको सशर्त अनुदानबाट आउने वार्षिक २ लाख रुपैयाँ कम भएपछि बाँकी काम रहेका वडामा एकमुष्ट किसान परिचयपत्र वितरण गर्न नगरपालिकाले १० लाख रकम विनियोजन गरेर काम अगाडि बढिरहेको निमित्त प्रमुख बिमलीले जनाए ।
यस्तै भद्रपुर नगरपालिकाले पशुपालन र कृषि कर्ममा कृषकलाई सहज वातावरण निर्माण गर्न नगरको दक्षिणी क्षेत्रमा पर्ने वडा नं १, २ र ३ लक्षित गरी कृषि र पशुको प्राविधिक सेवा बिस्तार गरेको छ । सेवा केन्द्र स्थापनासँगै सयौ पशुपालक कृषक लाभान्वित भएको नगर कृषि तथा पशुपन्छी शाखाको दावी छ ।
कृषि उपजको बाली लगाउँदा हुने जोखिमबाट लगानी सुनिश्चित गर्न कृषि बीमा कार्यक्रम लागू गरेको भद्रपुरमा त्यसको लाभ लिन कुनै पनि किसानले चासो नराखेको पाइएको छ । कृषि बीमा निःशुल्क गर्न नगर सरकारले बजेट विनियोजन गरेको भए पनि कृषकले कुनै पनि बालीको बीमा गर्न माग नगरेको कृषि शाखाको दावी छ ।
त्यस्तै नगरपालिकाले नगर क्षेत्रमा कृषि प्रयोजनका लागि सञ्चालन गरिने कृषि सिचाईको विद्युत महशुलको ५०% रकमं नगरपालिकाले तिरिदिने घोषणा गरेको छ ।
नगरप्रमुख गणेश पोखरेलका अनुसार कृषि उत्पादनको लागत घटाएर व्यवसायिक कृषिमा किसानको आकर्षण बढाएर अन्न उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर गराउन अनुदान कार्यक्रम ल्याइएको हो ।