२०८१ माघ १२, शनिवार , ०७:३१:३७ बजे

Sajhamanch
'

कोसी नाम नफेरिए थप सशक्त संघर्ष गर्ने पहिचानवादीको चेतावनी

सोमवार, पौष १६, २०८०

विराटनगर । पहिचानवादीले कोसी प्रदेशको पुनः नामाकरणको पहल गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । कोसीका मुख्यमन्त्री केदार कार्कीसमक्ष आज ध्यानकर्षण पत्र बुझाउँदै पुनः नामकरणको माग गरेका हुन् ।

“निषेधित क्षेत्र निर्धारण गरेर बन्दुकको घेराबन्दी भित्रबाट अलोकतान्त्रिक र तानाशाही शैलीमा जबरजस्ती कोसी नाम घोषणा भएको स्मरण गराउँदछौँ । जबरजस्ती घोषित कोसी नामविरूद्धको आन्दोलन कुनै पार्टी, जातिको विरोध होइन” पत्रमा भनिएको छ ।

शान्ति, समृद्धि, समाजवाद र नेपाली राष्ट्रितालाई थप मजबुत बनाउन कोसी नाम खारेजीको आन्दोलन गरिएको प्रदेश नं १ पुनः नामकरण समितिले जनाएको छ ।

“कोसी नाम खारेजी आन्दोलन भएको १० महिना बितिसकेको छ । जिम्मेवार राजनीतिक दलहरू, मुख्यमन्त्री, सभामुख, प्रदेशसभा सदस्यहरू जनधनको क्षति नहोस् भनेर सचेत हुनुपर्ने हो,” ध्यानकर्षण पत्रमा लेखिएको छ ।

संघर्ष समितिका संयोजक डगेन्द्र सिंह थेगिमले केही दलका नेताहरू उल्टो जनतालाई चिढ्याउन लागि परेको देखिएको र यो संकेत प्रदेशको लागि राम्रो नभएको बताए ।

उनले भने, “प्रदेशको नाम खारेजी गरेर नयाँ ढंगले अगाडि बढ्न जरुरी छ । “थेगिमले समस्या समाधान नहुँदासम्म मन्त्री तथा सांसदहरूले कार्यक्रममा सहभागी नगराइ दिन आग्रह गरे ।

प्रदेशसभा नियमावली संशोधनमार्फत हटाइएको नामसम्बन्धी प्रावधान थप गरी समन्वयात्मक भूमिका खेल्दै इतिहास, भूगोल, सभ्यताको सम्मानका लागि पहिचानको आधारमा पुनः नामांकन गर्न मुख्यमन्त्री कार्कीसमक्ष आग्रह गरेका छन् ।

मुख्यमन्त्री कार्कीले पहिचानको मागको सवालमा आफू जानकार भएको बताउँदै भने, “पहिचानसँग सम्बन्धी मागको विषयमा सरकार जानकार छ, पहिचान संस्कार र सम्पत्ति पनि हो । यसलाई थप प्रचार गर्न सकिन्छ ।”

पहिचानलाई इन्कार गर्ने वा नकार्ने भन्ने कुरा नहुने बताउँदै कार्कीले प्रदेशले सम्मान गर्ने बताए ।

“प्रदेशको नामकरण भएको छ,” कार्कीले भने, “शान्तिपूर्ण आन्दोलन हुनुपर्छ, सबैको प्रदेश हो, झगडालाई देखाएर गणतन्त्र नै खारेज गराउने भनेर लागेकाबाट सतर्क हुनुपर्छ ।”

सम्बन्धित खबर