
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ सालको फागुनमा भएको तीन बुँदे सहमति कार्यान्वय गर्न कार्यदल गठन भएको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेक्रविक्रम चन्द विप्लवबीच भएको भेटमा तीन बुँदे सहमति कार्यान्वय गर्न ६ सदस्यीय कार्यदल गठन भएको हो ।
कार्यदलमा माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुनको नेतृत्वमा र नेकपाबाट प्रवक्ता खड्गबाहादुर विश्वकर्माको नेतृत्वमा कार्यदल गठन भएको छ ।
नेता अनिल शर्माका अनुसार कार्यदलमा नेकपाबाट विश्वकर्माको नेतृत्वमा उमा भुजेल र अधिवक्ता एकराज भण्डारी सदस्य छन् । माओवादी केन्द्रले पुनको नेतृत्व रहने भने पनि बाँकी सदस्यको नाम दिएको छैन ।
जिल्ला अदालत काठमाडौंले १८ मंसिरमा नेकपाका महासचिव विप्लवसहितका नेताहरुमाथि राज्य विरुद्धको कसुरमा ३५ दिन भित्र अदालतमा उपस्थित हुन आदेश दिएको थियो । उक्त आदेश जारी भएपछि समाजवादी मोर्चाले असन्तुष्टि जनाएको थियो ।
अदालतमा राज्यविरुद्धको कसुरमा ४ वर्षअघि दायर गरिएको मुद्दामा विप्लवसहित उक्त पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका अध्यक्ष राजु कार्की, माइला लामा विरुद्ध उक्त पक्राउ पुर्जी जारी गर्दै अदालतमा उपस्थित हुन भनेको थियो ।