२०८२ भदौ २७, शुक्रवार , १०:३७:४४ बजे

Sajhamanch
'

धरानका मेयरले हटाए कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर

बिहिवार, पौष १२, २०८०

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर हटाएका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टटास लेख्दै धरान संघीय सरकारको महत्व नदिए प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाउने बताएका थिए । उनले प्रधानमन्त्री र राष्ट्रपति फोटो हटाएर यलम्बरको फोटो राखेको एक कर्मचारीले बताए ।

‘म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ? जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु ? जय देश ?,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए ।

धरान उपमहानगरका प्रवक्ता समेत रहेका १७ नम्बर वडाका अध्यक्ष मनोज भट्टराईले मेयर साम्पाङले कानुन विपरीत काम गरेको बताए ।

‘उहाँले देशको प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाएर अराजकता देखाउनु भएको छ । उहाँको यो कदममा धरानको कार्यपालिकाले नीतिगत रुपमा विरोध गरेर, कानुनी दायरामा ल्याउन पहल गर्छ । उहाँको अराजकताले सीमा नाघेको छ,’ भट्टराइले भने ।

धरान उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत प्रज्ञादेवी निरौलासँग यस विषयमा प्रतिक्रिया लिन खोज्दा उनले यो विषय आफूलाई थाहा नभएको बताइन् ।

‘म आज कार्यालय प्रमुखहरुको भेलामा इटहरीमा आएको छु, बिहान म कार्यालयबाट निस्किँदा प्रधानमन्त्री र राष्ट्रपतिका फोटा थिए । मेयर साबले हटाएको विषय मलाई थाहा छैन,’ निरौलाले भनिन् ।