
कचनकवल । कचनकवल गाउँपालिकाका जनप्रतिनिधिहरुले पालिकाको समग्र विकासका कामहरु योजनाबद्ध रुपमा अघि बढिरहेको बताएका छन् । २०७९ सालमा सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचन पछि नागरिकले अनुभूति गर्नेगरी पालिकामा विकासका कामहरु अघि बढेको उनीहरुको दाबी छ ।
नेपाल प्रेस युनियन झापाले आयोजना गरेको जनप्रतिनिधि र पत्रकारबीचको अन्तरक्रिया कार्यक्रमका बोल्दै कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद राजवंशीले गाउँपालिकाका सातैवटा वडाको बाटो कालोपत्रे गर्नका लागि रकम विनियोजन गरिएको बताए । ग्राभेल सडक पटकपटक मर्मत गर्दा साधन र स्रोतको धेरै खर्च हुने भएकोले बरु हरेक वर्ष थोरै थोरै गरेर भए पनि आफूहरुको कार्यकालमा सबै वडाका मुख्य बाटोहरु कालोपत्रे गर्ने गरी योजना अघि बढाइएको पालिका अध्यक्ष राजवंशीको भनाई छ ।
प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराईको अध्यक्षतामा गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा अध्यक्ष राजवंशीले कृषकहरु तोरी खेतीमा अनुदान, राँगाका पाडा अनुदान दिने कार्यक्रमदेखि सनपाटको पात सुकाएर बनाइने सुकातीको उत्पादनका लागि अनुदान लगायतका कार्यक्रमहरु सञ्चालन गरिएको जानकारी दिए ।
कार्यक्रममा कचनकवल गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडाध्यक्ष चिन्तामणि खरेलले आफूहरु निर्वाचित भएर आएदेखि बनाएका योजनाले पालिकामा आवश्यक पूल पुलेसाहरु बनाइएको, एक हजार ५०० जना विपन्न नागरिकको स्वास्थ्य बीमा गरिदिएको, खानेपानी सबैको घरमा पुर्याउने योजना अघि बढाइएको तथ्यांक प्रस्तुत गरे । उनले पालिकामा नागरिकले अनुभूति गर्ने गरी विकासका योजना सञ्चालन गरिएको पनि बताए ।
कार्यक्रमको बारेमा प्रकाश पार्दै आयोजक संस्थाका अध्यक्ष भट्टराईले पालिकामा सञ्चालन गरिएका राम्रा कामहरुको बारे अनुभव बाँड्न र उदाहरणीय योजनाहरुको बारेमा प्रचार गर्न कार्यक्रम सञ्चालन गरिएको बताए ।
कार्यक्रममा प्रेस युनियन कोशी प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौलाले नेपालकै होचो ठाउँलाई पालिकाले पर्यटक आकर्षणको केन्द्र बनाउन सके त्यसबाट लाभ लिन सक्ने सुझाए । प्रेस युनियन झापाका सह सचिव जसोदा राजवंशीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष ईश्वर अधिकारीले जिल्लाका अन्य पालिकाहरुमा पनि यो कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिएका थिए ।