
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा आज सन्दीप पक्षका वकिलले बहस गर्दै छन् । जाहेरवाला र सरकारी वकिलको बहस सकिएपछि हिजोबाट सन्दीप पक्षका वकिलले बहस सुरु गरेका हुन् ।
‘हेर्दा हेर्दै’मा मुद्दामा आज पनि सुनुवाइ हुनेछ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासमा गत आइतबारबाट सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ सुरु भएको थियो ।
सरकारी वकिलबाट दुईजना र जाहेरवालाबाट आठजनाले बहस गरिसकेका छन् । सन्दीप पक्षका वकिलमध्ये मुरारी सापकोटाले मात्र बहस गरेका छन् । सापकोटाले जम्मा २० मिनेट मात्र बहसका लागि समय पाएका थिए । उनले आज पनि बहस हुने बताएका छन् ।
उनका अनुसार सन्दीपका पक्षबाट ६ जनाले बहस गर्दैछन् । सन्दीपका पक्षका वकिलको बहसपछि जाहेरवाला र सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ । जवाफी बहस सकिएपछि न्यायाधीशले फैसला सुनाउनेछन् ।
सन्दीपका वकिलको बहस लम्बिएमा फैसला शुक्रबारका लागि सर्नेछ । तर, बहस छोटो भएर जवाफी बहस सकिएमा भने बिहीबार नै फैसला आउने बताइएको छ ।
पीडित भनिएकी गौशाला २६ (छ) को उजुरीमा अनुसन्धान गरी प्रहरीले प्रतिवेदन बुझाएपछि सन्दीपविरुद्ध ०७९ कात्तिक १४ मा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । त्यसबेला पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकोमा सन्दीप उच्च अदालतको आदेशबाट देशबाहिर जान नपाउने तर स्वदेशमा हुने प्रतियोगितामा भाग लिन पाउने आदेश लिएर थुनामुक्त भएका थिए ।
उच्च अदालतको आदेशविरुद्ध पुनः सर्वोच्चमा पुनरावेदन गरेका सन्दीपलाई सर्वोच्चले अनुमति लिएर विदेश समेत खेल्न जान पाउनेगरी आदेश गरेपछि उनी खेल जीवनमा नियमित छन् । सन्दीपको मुद्दामा यसअघि पटक–पटक अन्तिम सुनुवाइ भन्दै इजलास तोकिए पनि सुनुवाइ हुन सकेको थिएन । पटक पटक मुद्दा सर्दा यो मुद्दाको ३४औँ पेसी बुधबार तोकिएको हो । बिहीबार (आज) ३५औँ पेसीमा सुनुवाइ हुन्छ । पीडित भनिएकी गौशाला २६ (छ) को उमेर एकिन गर्न पटक पटक आदेश भएका छन् ।
जिल्ला अदालतका तत्कालीन एक नम्बर न्यायाधीश राजु खतिवडाको इजलासले गत साउनमा पीडितकी आमाको उमेर एकिन गर्ने आदेश गरेको थियो । पीडितकी आमाको उमेर एक ठाउँमा २०३५ रहेकोमा अर्को ठाउँमा ०५३ भएको पाएपछि आमाको उमेर एकिन गर्ने आदेश भएको थियो ।
यसअघि कात्तिक २३ मा न्यायाधीश केशवराज घिमिरेको इजालासले मंसिर २२ भित्र दुवै पक्षका वकिलहरूलाई लिखित बहस नोट पेस गर्न आदेश गरेको थियो । मंसिर २४ मा न्यायाधीश पदमराज पाण्डेको इजलासमा पेसी चढे पनि सन्दीपका वकिलले स्थगित गरेका थिए । दुवै पक्षको बहसनोट आइसकेकाले अब संक्षिप्त सुनुवाइ सकिएपछि फैसला गर्नेछ ।