अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ बिहीबारे बजारस्थित श्री नवदुर्गा पञ्चायन मन्दिरमा श्रीमद् स्कन्ध महापुराणको तयारी गरिएको छ । मन्दिरमा १९औ अनुष्ठान तथा १८औं महापुराणको आयोजना गर्न लागिएको हो ।
यही पुस १० देखि १८ गतेसम्म १८औं महापुराण आयोजना गरिने मूल आयोजक समितिले आज आइतबार पत्रकार भेटघाट गरी जानकारी दिएको हो । महापुराण सम्पन्न गर्न विभिन्न १२ वटा उपसमिति निर्माण गरेको मूल आयोजक समितिका संयोजक छविलाल लम्सालले जानकारी दिएका हुन् ।
महापुराण सम्पन्न गर्न बिमल ढुङ्गेलको संयोजकत्वमा शोभायात्रा व्यवस्थापन उपसमिति, बिन्दा रेग्मीको संयोजकत्वमा लाखबत्ती ब्यवस्थापन उपसमिति, देवीचरण गिरीको संयोजकत्वमा मण्डप ब्यवस्थापन उपसमिति, पवित्रा दाहालको संयोजकत्वमा पण्डित ब्यवस्थापन उपसमिति, एलबी गिरीको संयोजकत्वमा आर्थिक समन्वय उपसमिति, भीमप्रसाद सापकोटाको संयोजकत्वमा धान्यञ्चल तथा गेट ब्यवस्थापन उपसमिति निर्माण गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
त्यस्तै कर्णबहादुर दाहालको संयोजकत्वमा स्वयम सेवक तयारी ब्यवस्थापन उपसमिति, शिवकुमार श्रेष्ठको संयोजकत्वमा प्रसाद ब्यवस्थापन उपसमिति, मुल आयोजक समितिका सचिव खिलराज कार्की र उपसचिव तेजकुमार गिरीको संयोजकत्वमा प्रचारप्रसार, सूचना तथा छपाई ब्यवस्थापन उप–समिति, अभिनारायण गिरीको संयोजकत्वमा सामान खरिद ब्यवस्थापन उपसमिति, अम्बिका कार्कीको संयोजकत्वमा माला ब्यवस्थापन उपसमिति, कोषाध्यक्ष जमुना खड्काको संयोजकत्व तथा अर्जुन रेग्मीको सह–संयोजकत्वमा कोष ब्यवस्थापन समिति निर्माण गरिएको मूल आयोजक समितिले जनाएको छ ।
महापुराणको प्रमुख बाचकका रुपमा पण्डित छन्दुराम भण्डारी रहने छन् भने उपबाचकका रुपमा पण्डित पुरुषेत्तम गजुरेल, पण्डित लक्ष्मीप्रसाद पोखरेल, पण्डित भक्तिप्रसाद घिमिरे र पण्डित भरत अधिकारी रहने मूल आयोजक समितिले जनाएको छ ।
उद्घानका अवसरमा १०८ कलशका साथ शोभायात्रा गरिने छ । महापुराणका लागि अनुमानित ६ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । १९ वर्षअघि धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले शुरु गरिएको पुराणको १९औं अनुष्ठान र १८औं महापुराण भएको मन्दिर समितिका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक लम्सालले बताए । उनका अनुसार पुराणलाई सफल बनाएर रकम बचत भए त्यसलाई मन्दिरको अक्षयकोष बृद्धि गरिनेछ ।
यसअघि लागेका पुराणबाट ८५ लाख मूल्य बराबरको सामुदायिक भवन, २१ लाख ७५ हजार रुपैयाँ बराबरको मन्दिर निर्माण भइसकेको र मन्दिरको अक्षयकोष ४ लाख रुपैयाँको रहेको जानकारी दिइएको छ । सामुदायिक भवनमा किरियापुत्री बस्ने ठाउँ बनाइएको छ भने एक हजार रुपैयाँ भन्दा बढी दानदिने दाताको नाम शिलालेखमा राखिएको बताइएको छ ।
महापुराण सम्पन्न गर्न ७०० सदस्यीय मूल आयोजक समिति निर्माण गरिएको छ ।