
काठमाडौं । काफ्ले समाज केन्द्रीय कार्यसमितिको अध्यक्षमा कमलप्रसाद काफ्ले सर्वसम्मत चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न २२औं वार्षिक साधारण सभा तथा १०औं अधिवेशनले सोलुखुम्बुका कमलप्रसादको अध्यक्षतामा केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कास्कीका देवकृष्ण र उपाध्यक्षहरुमा पर्वतका बाबुराम, स्यांग्जाका दिपेन्द्र, भक्तपुरका दामोदर, बाराका रामकृष्ण र रामेछापका मनमोहनराज काफ्ले चयन भएका छन् । यसैगरी काफ्ले समाजको महासचिवमा चितवनका देवीप्रसाद शर्मा, सचिवमा सोलुका डिल्लीराम, कोषाध्यक्षमा ओखलढुंगाकी अम्बिका र सहकोषाध्यक्षमा भक्तपुरका अर्जुन काफ्ले निर्वाचित भएका छन् ।
केन्द्रीय कार्यसमितिका सदस्यहरुमा दोलखाका लक्ष्मण, भक्तपुरका भुवनप्रसाद, रुपन्देहीका खगेन्द्रप्रसाद, झापाका तोयानाथ, सोलुखुम्बुका खिलानाथ र कृष्णप्रसाद उपाध्याय काफ्ले निर्वाचित भएको निर्वाचन समितिका संयोजक निलकण्ठ काफ्लेले घोषण गरे ।

यसैगरी कार्यसमितिका सदस्यहरुमा धनुषाका हरिप्रसाद, दोलखाका केदारप्रसाद, पर्वतका भुपराज, पाँचथरका हरिकिशोर, चितवनका रामनाथ, कास्कीका गोविन्द, नवलपरासी पूर्वका पदमराज, चितवनकी विष्णुदेवी एवम् युवराज, नवराज, देवीकृष्ण काफ्ले निर्वाचित भएका छन् ।
नवनिर्वाचित कार्यसमितिका सदस्य पदाधिकारीहरुलाई अधिवेशन हलमा नै निर्वाचन समितिका संयोजक निलकण्ठले सपथग्रहण गराउँदै साधारणसभामा बन्धुहरुले उठाएका जिज्ञासा एवम् सुझावहरु कार्यान्वयन गरी काफ्ले समाजको प्रवर्धनमा अहोरात्र लागिरहन शुभेच्छा प्रकट गरेका छन् ।

काफ्ले समाजका संस्थापक अध्यक्ष गुणराज काफ्लेको प्रमुख आतिथ्यमा चावहिलस्थित एक पार्टी प्यालेसमा आयोजित साधारणसभामा महासचिव रामकृष्ण र कोषाध्यक्ष मनमोहनराज काफ्लेले विभागीय प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदनहरु माथि सहभागी प्रतिनिधिहरुले विभिन्न जिज्ञासा, प्रतिक्रिया, आलोचनासहित समाजको उन्नतिका लागि गर्नुपर्ने आवश्यक कामहरुबारे सुझाव दिएका थिए ।
साधारणसभाको उद्घाटन शत्रमा झापा अध्यक्ष गोपाल काफ्लेले केन्द्रीय कार्यसमितिको अवधि ४ वर्ष बनाउनुपर्ने, समाजको विधान समयानुकूल परिमार्जन गरिनुपर्ने, आजीवन सदस्य संख्याको आधारमा महाधिवेशनमा प्रतिनिधित्वको व्यवस्था गरिनु पर्ने, काफ्लेहरुले भवन संरचनामा लगानी बढाउनुका अलावा बन्धुहरुको मनमनमा बस्न सक्ने किसिमको कल्याणकारी कोषको स्थापना गरी समस्यामा परेका बन्धुहरुलाई सहयोग गरिनुपर्ने, समाजको कार्यक्रम काठमाडौं उपत्यका केन्द्रित मात्र नगरी देशभर पुर्याउनुपर्ने, वंशावलीलाई समय समयमा परिमार्जन गरिरहनुपर्ने आवश्यकतासहितका सुझावहरु पेस गरेका थिए । साधारणसभाले यिनै विषयहरु माथि पनि गम्भीर छलफल गरेको थियो ।

अधिवेशनको हलले समाजको विधानलाई समय सापेक्ष परिमार्जन गर्न कार्यदल पनि गठन गरेको छ ।
काफ्ले समाजका अध्यक्ष ख्यामनारायणको अध्यक्षतामा आयोजित साधारणसभामा बागमति प्रदेशसभा सदस्य कुन्दनराज काफ्ले, दैलेख जिल्लाको नारायण नगरपालिकाका प्रमुख लोमनशर्मा काफ्ले, मधेशप्रदेश अध्यक्ष रेणुका काफ्ले लगायतले मन्तब्य राखेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव रामकृष्णले गरेका थिए ।
सोही अवसरमा काफ्ले समाजको सांस्कृतिक विशेषांकका रुपमा प्रकाशित नवौं स्मारिका पनि सार्वजनिक गरिएको थियो ।



