
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अंगदान र प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न अपिल गरेका छन् ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अंगदानका लागि प्रेरित गर्नुपर्ने बताए । उनले भने, “सबै दाजुभाइ दिदीबहिनीमा म आह्वान गर्दछु, अंगदान गर्दा धेरै मानिसले पुनर्जीवन पाउँछन् ।
मानव हुनुको नाताले कलेजो, मिर्गौला, मुटु, फोक्सोलगायत अंग फेल भएर मृत्युको मुखमा पुगेका बिरामीलाई बचाउन प्रयास गर्नु सबै मानवको साझा जिम्मेवारी हो । तसर्थ, अंग प्रत्यारोपणको यस राष्ट्रिय अभियानबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीमा हार्दिक अपिल गर्छु ।”
प्रधानमन्त्री प्रचण्डले नेपालको अंग प्रत्यारोपण उपचारका क्षेत्रमा रहेका जटिलता सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको बताए ।